०३ असार २०८३, बुधबार

मुख्य समाचार : देउवामाथि खनिए नेताद्वय सिंह र सिटौला, परीक्षामा कडाइ गरेपछि ज्यान मार्ने धम्की

मुख्य समाचार : देउवामाथि खनिए नेताद्वय सिंह र सिटौला, परीक्षामा कडाइ गरेपछि ज्यान मार्ने धम्की

काठमाडौं, १० चैत– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नेताहरुले नेतृत्वको चर्को आलोचना गरेका छन् । निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुक्रबारदेखि शुरु भएको बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका विविध कारणका बारेमा धारणा राख्दै उनीहरुले नेतृत्वको आलोचना गरेका हुन् । 

पहिलो दिनको बैठकमा पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति शेरबहादुर देउवाका कार्यशैली भएको आरोप लगाए । नेता सिंहले आठ पृष्ठ लामो सुझाव एवं प्रस्ताव राख्दै नेपालको निर्वाचनको इतिहासमा काँग्रेसले भाग लिएको निर्वाचनमा यो स्तरको लज्जास्पद पराजय विगतमा कहिल्यै भोग्नु नपरेको बताए । 

पार्टी सभापति देउवाले नेकपा (माओवादी केन्द्र) सँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँटको सम्झौता र स्थानीय तहको निर्वाचनमा पुष्पकमल दाहाल पुत्रीलाई प्रमुखामा जिताउन खेलेको भूमिका, काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टाका कारणे निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको नेता सिंहले आरोप लगाए ।

मधेश केन्द्रित दललाई मनाउन काँग्रेसले राखेको संविधान संशोधनको प्रस्तावको औचित्य सिद्ध गर्न नसक्नु, मधेश केन्द्रित दललाई एकतर्फीरुपमा निर्वाचनमा उम्मेदवार नै नदिएर गुन लगाउनु र भारतले नेपालमा गरेको आर्थिक नाकाबन्दीका विरुद्धमा बोल्न नसक्नु काँग्रेसका लागि दुर्भाग्य भएको नेता सिंहले टिप्पणी गरे ।

तत्कालिन प्रधानन्यायाधीशका विरूद्ध महाअभियोग लगाउने कुत्सित प्रयास गर्नु, नेपाल प्रहरीको एक जना डिआइजीलाई बढुवा गरेर प्रहरी महानिरीक्षक बनाउने पार्टी सभापतिको रबैया, दुई वर्ष बितिसक्दा पनि उपसभापति र महामन्त्रीसहित केन्द्रीय कार्यसमिति गठन र पार्टी विभाग पूर्णता दिन नसक्नु निर्वाचनमा पराजयका कारण भएको उनको भनाइ छ । 

बैठकमा अर्का पूर्वमहामन्त्री सिटौलाले संविधान घोषणापछिको सत्ता समीकरणमा नेतृत्वबाट गम्भीर त्रुटि भएको उल्लेख गरे । पराजित हुने देख्दादेख्दै तत्कालीन सभापति सुशील कोइरालालाई प्रधानमन्त्री पदमा उठाउँदा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत महत्वपूर्ण पद सबै कम्युनिष्ट पार्टीको हातमा गएको उनको टिप्पणी छ । 

पार्टीको घोषित सिद्धान्त र व्यवहारमा ठूलो अन्तर देखिएको उनको आरोप थियो । पार्टीको १४औँ महाधिवेशन छिट्टै गर्नुपर्ने नभए तत्काल महासमिति बैठक बोलाउनुपर्ने उनले बताए । पार्टी पदाधिकारी मिलेर पार्टी कब्जा गर्न सकिएला तर वामपन्थीको कब्जाबाट मुलुकलाई भने छुटकारा दिलाउन नसकिने बताए । 

बैठकमा पार्टीका नेता एवं पूर्वमन्त्री डा नारायण खड्काले नेकपा (एमाले)ले नाकाबन्दीको विरुद्धमा आवाज उठाइ राष्ट्रवादका नाममा जनमत सिर्जना गर्नु, दुई ठूला कम्युनिष्ट दलबीच चुनावी गठबन्धन हुनु, पार्टीभित्रको अन्र्तघातलगायत कारणले निर्वाचनमा पार्टी पराजय भएको धारणा राखे ।

बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण्प्रसाद पौडेलले जानकारी दिए । 

राष्ट्रिय लक्ष्यमा सबै एक जुट हौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनु पर्ने बताएकी छन् । नेपाल बार एशोसिएसनले शुक्रबार बाँकेको नेपालगञ्जमा गरेको १४ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले संविधान निर्माणको ऐतिहासिक उपलब्धिलाई जोगाइ राख्न संविधानको कार्यान्वयन, नागरिकको न्यायमा पहुँच र राजनीतिक स्थायित्वका लागि अझ महत्वपूर्ण भूमिका खेल्न कानुन व्यवसायीलाई आग्रह गरिन् । पछिल्लो समय न्याय क्षेत्रमा घटेका घटना गम्भीर प्रकृतिका रहेको भन्दै यस विषयमा सम्मेलनको ध्यान आकृष्ट हुनु पर्नेमा जोड दिइन् । 

दुई वर्षमा रेल– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाधिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राजधानीको भृकुटी मण्डपमा आयोजित कार्यक्रममा उनले नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै काठमाडौँ उपत्यकामा रेल र विसं २०७६ सम्ममा नेपालको पानी जहाज समुद्रमा चल्ने वादी गरे । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकार आर्थिक समृद्धि र सुशासनको बाटोमा रहेकाले औद्योगिक क्षेत्रका समस्यालाई सम्बोधन गरेर आगाडि बढ्ने विश्वास व्यक्त गरे ।


ज्यान मार्ने धम्की– धनुषामा सञ्चालित स्नातकोत्तर दोस्रो वर्ष र स्नातक चौथो वर्षको परीक्षालाई मर्यादित बनाउन आएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई ज्यान मार्ने धम्की आएको छ । परीक्षामा चिट चोर्ने परीक्षार्थीलाई निष्काशन गरेपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक अखिलेश कुमार सिंहलाई ज्यान मार्ने धम्की आएको हो । 
रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब)मा जारी स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा तथा जनकपुरका विभिन्न कलेजमा सञ्चालित स्नातक तह चौथो वर्षको परीक्षा मर्यादित बनाउन त्रिविका परीक्षा सहनियन्त्रक सिंह नेतृत्वको टोली जनकपुर आएको हो । केन्द्रबाटै टोली आएपछि परीक्षामा कडाइ गरिएको छ । 

सहनियन्त्रक सिंहले परीक्षामा चिट चोर्ने तथा अमर्यादित गतिविधि गर्ने परीक्षार्थीलाई धमाधम निष्कासन गरिरहेका छन् । सिंह नेतृत्वको टोलीले राराबबाट ६४ जना परीक्षार्थीलाई निष्कासन गरेको छ । 

परराष्ट्रको परिपत्र– परराष्ट्र मन्त्रालयले प्रदेशका मुख्यमन्त्री, मन्त्री र स्थानीय तहका मेयरहरुलाई कुटनीतिक नियोगका अधिकारीहरुसँग भेटवार्ता गर्दा भियाना सन्धी पालना गर्न परिपत्र गरेको छ । प्रदेश तथा स्थानीय तहका पदाधिकारीले कुटनीतिक नियोगका अधिकारीहरुसँग सिधैं भेटवार्ता गर्न थालेपछि केन्द्र सरकारले दुवै पक्षलाई भियना कन्भेन्सन सम्झाएको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयका उच्चअधिकारीहरुसँग छलफल गरेपछि मन्त्रालयले प्रदेश, स्थानीय तह र नेपालस्थित कुटनीतिक तथा विकास साझेदार एजेन्सीहरुलाई भियना सन्धी पालना गर्न नोट पठाएको छ । 

युनियनद्वारा प्रतिवेदन सच्चाउन अस्वीकार– युरोपेली युनियनले चुनाव पर्यवेक्षणका क्रममा खस आर्यको आरक्षण हटाउन सुझाव दिँदै दिइएको प्रतिवेदन सच्याउन अस्वीकार गरेको छ । इयुले गरेको पत्रकार सम्मेलनमा प्रतिवेदन अन्तराष्ट्रिय मापदण्डका आधारमा तयार पारेको दाबी गर्दै प्रतिवेदन सच्याउन अस्वीकार गरेको हो ।
चुनावमा गरिएको आरक्षण सुविधा, निर्वाचन आयोगको कामकारबाही, आचारसंहिता लगायतमा खोट देखाउँदै चुनाव पर्यवेक्षण मिसनले गत सोमबार सुझावसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनको सर्वत्र आलोचना भएपछि सरकारले युनियनलाई प्रतिवेदन सच्याउन आग्रह गरेको छ । 

निःशुल्क ‘ट्रायल’ सेवा शुरु– उपत्यकाका तीन यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका छन् । लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वोच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले शुक्रबारदेखि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ । 
निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका कार्यालयमा सुकेधारा, ठूलो भ¥याङ र भक्तपुरस्थित सल्लाघारी रहेका छन् । 

बलेवा विमानस्थलमा व्यावसायिक उडान शुरु– बन्द भएको २६ वर्षपछि बागलुङको बलेवा विमानस्थल शुक्रबारदेखि नियमित सञ्चालनमा आएको छ ।  तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाडाँैं–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । 

पन्ध्र यात्रु बाकेर काठमाडौंँबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो । 

अबदेखि साताको दुई पटक नियमित रुपमा काठमाडौं–बागलुङ उडान हुने जनाइएको छ । हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । 

काठमाडौँ–सुर्खेत सिधा हवाई सेवा शुरु हुने– केन्द्रीय राजधानी काठमाडौँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिधा हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार कर्णालीको पर्यटन विकाससम्बन्धी छलफलको निर्णयसँगै सुर्खेत उडान शुरु गर्न लागिएको हो । काठमाडौँबाट करीव एक घण्टाको हवाई यात्रापछि सुर्खेत पुगिन्छ ।
निजी वायुसेवा कम्पनी बुद्ध एयरले वैशाख १ गतेदेखि काठमाडौँ–सुर्खेत उडान सञ्चालन गर्ने भएको छ ।

प्रदेश ३ः तीन विधेयक दर्ता–  प्रदेश नंं ३ को प्रदेशसभा सचिवालयमा तीन विधेक दर्ता भएका छन् । प्रदेशसभाको यही चैत १३ गते बस्ने बैठकमा सार्वजनिक खरिद प्रमाणीकरण, आर्थिक र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सञ्चालन एवं कार्यसम्पादनसम्बन्धी ती विधेयक पेश  गरिने सचिवालयले जनाएको छ ।

चैत १२ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बसी चैत १३ गतेको बैठकमा दफावार छलफलपछि विधेयक पारित गर्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । 


मृतकको सनाखत– काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ आउँदै गरेको यात्रु बस दुर्घटनामा परी मृत्यु हुने तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजा, ६० वर्षीय खुमराज अधिकारी र मेलम्ची –१२ बाँसबारीका ५६ वर्षीया ‘ठूलो कान्छी’ भनिने तुलसा पराजुली रहेका छन् । 

बसमा सवार ३५ मध्ये नौ घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बम विष्फोटबाट छ घाइते– सिरहाको लहान नगरपालिका–७ दुर्गा मन्दिर नजिक विकास शारदा सुनचाँदी पसलमा शुक्रबार अपराह्न प्रेसरकुकर बम विस्फोट हुँदा छ जना घाइते भएका छन् । बम विस्फोटमा परी चार पुरुष, एक महिला र सात वर्षीया बालिका घाइते भई सप्तऋषि अस्पताल लहानमा भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

राजर्षिजनक कप– सर्लाहीको बागमतीमा जारी राजर्षिजनक कप प्रतियोगिताको शुक्रबारको खेलमा सर्लाही–११ बिजयी भएको छ । आयोजक टिम सर्लाही–११ र भुटानको टिम ड्रग स्टारबीच भएको प्रतियोगिताको दोस्रो खेलमा ३–० गोल अन्तरले भुटानको ड्रग स्टारलाई पराजित गर्दै सर्लाही–११ विजयी भएको हो । यो जितसँगै सर्लाही–११ ले त्रिभुवन आर्मीसगँको भेट पक्का गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्