काठमाडौँ, १२ चैत- बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लाग्दी गदियानी–९, सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरेको छ । ९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको गाडीले ठक्कर दिँदा बंगाली सहकर्मी रफिकुल इस्लामको ज्यान गएको थियो ।
अदालतले तोकेको ब्लडमनी (दिया रकम) नलिई पीडित परिवारले माफी दिएपछि सुरेश गत बुधबार सजायमुक्त भएको खबर कान्तिपुरमा छापिएको छ ।
‘माटो सम्याउँदा अगाडि रहेका इस्लामलाई देखिनँ । त्यो दुर्घटना अन्जानमा भएको थियो,’ मण्डलले भने, ‘काम गर्ने क्रममा भएको दुर्घटनामा जिम्मेवारी लिनुपर्यो । मेरो अनुरोधलाई इस्लामको परिवारले ब्लडमनी नलिने निर्णय गरेपछि मैले न्याय पाएँ ।’
अदालतले पीडित परिवारलाई तीन लाख रियाल दिनुपर्ने फैसला सुनाएको थियो । साउदीस्थित नेपाली दूतावास मण्डलका पक्षमा अदालतमा लडै आएको थियो । दुर्घटना भएपछि मण्डललाई जुवेलस्थित जेलमा ७ वर्ष ६ महिना राखिएको थियो ।