
धनगढी, १३ चैत– प्रदेश नं. ७ मा आउँदो शैक्षिक सत्रको लागि पौने २४ लाख पाठ्यपुस्तक वितरण कार्य शुरु भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीले शैक्षिक सत्र २०७५ को लागि २३ लाख ७० हजार पाठ्य पुस्तक वितरणको कार्य सुरु गरेको छ । क्षेत्रीय प्रमुख योगेन्द्रराज भट्टले प्रदेशको दुर्गम पहाडी जिल्ला दार्चुला र बाजुरामा सोमबारदेखि नै वितरणको कार्यको सुरु गरेको जनाए ।
उनले गत वर्ष प्रदेशमा २० लाख थान पुस्तक आवश्यक भएकोमा बताउँदै आगामी शैक्षिक सत्रमा २३ लाख ७० हजार थान आवश्यक हुने बताए । जसको लागि हालसम्म २३ लाख थान पाठ्यपुस्तक भण्डारण समेत भएको क्षेत्रीय प्रमुख भट्टको भनाइ छ ।
दार्चुला र बाजुरामा आपूर्ति गरे लगत्तै बझाङ, बैतडी, अछाम, डोटी, डडेल्धुरा तथा कञ्चनपुर र अन्त्यमा कैलालीमा पाठ्यपुस्तक बिक्री वितरण गर्ने जनक शिक्षाको तयारी छ ।
विगतको वर्षमा दुर्गम पहाडी जिल्लाहरुमा पाठ्यपुस्तकको अभाव भएको गुनासो बढेपछि जनक शिक्षाले दुर्गम जिल्लालाई नै पहिलो प्राथमिकतामा राखेर वितरण गरिरहेको जनाएको छ । चैतमसान्तभित्रै सबै विद्यालयमा पाठ्यपुस्तक पु-याउने लक्ष्य लिइएको छ ।
‘विगतमा विभिन्न कारणले समयमा पाठ्यपुस्तक नपुग्दा प्रदेशका केही जिल्लामा पाठ्यपुस्तक अभावका खबर आउने गरेका थिए’ केन्द्रका क्षेत्रीय प्रमुख भट्टले भने– पहिलोपटक केन्द्रले कुनै पनि ठाउ“बाट पाठ्यपुस्तक अभाव हुन नदिने योजना अनुसार काम गरिरहेको छ ।