
काठमाडौं, १४ चैत-बल टेम्परिङ प्रकरणमा दोषी पाइएपछि क्रिकेट अष्ट्रेलिया (सीए)ले अष्ट्रेलियन राष्ट्रिय टोलीका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेबिड वार्नरलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।
यस्तै पहेँले टेप प्रयोग गरी बल टेम्परिङ गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका क्यामरन बेनक्रफ्ट ९ महिनाका लागि प्रतिबन्धित भएका छन् । बेनक्रफ्टले दक्षिण अफ्रिकासंगको तेस्रो टेस्टमा हारउन्मुख भएपछि पहेंलो टेप प्रयोग गरी बलको संरचना बिगार्ने प्रयास गरेका थिए ।
यससँगै तीनै खेलाडीलाई चौंथो टेस्टअगावै घर बोलाइएको छ भने सिरिजमा बाँकी खेलका लागि विकेट किपर ब्याट्सम्यान टिम पाइनेलाई कप्तानको जिम्मेवारी दिइएको छ ।
यस प्रकरणमा प्रशिक्षक ड्यारेन लेम्यान भने दोषी नपाइएको भन्दै उनलाई कारबाही गरिएको छैन ।
फिर्ता बोलाइएका खेलाडीको ठाउँमा ग्लेन म्याक्सवेल, जो बर्न र म्याथ्यु रेन्सलाई टीमा सामेल गरिएको छ ।
आईसीसीले स्मिथ र वार्नरलाई १ खेलको प्रतिबन्ध लगाएको थियो ।