
काठमाडौँ, १५ चैत— बारास्थित गढीमाई नाट्य कला समूहका अध्यक्ष रंगकर्मी रामरोशन चौरसिया अहिले तनावमा छन् । मतदाता शिक्षा प्रचारका लागि २ लाख रुपैयाँ ऋण लिएर सडक नाटक देखाएका उनी निर्वाचन आयोगले त्यसबापतको भुक्तानी नदिँदा उनी समस्यामा परेका हुन् ।
‘एक महिनाको भाका राखेर ऋण लिइयो, चार महिनासम्म पाइएन,’ उनले भने । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे जनचेतना जगाउन चौरसियाको समूहले राष्ट्रिय नाचघरसँग सहकार्यमा ३० स्थानमा नाटक देखाएको थियो ।
यही पैसा उठाउन काठमाडौं आएका उनी बुधबार रित्तो हात फर्किए । ‘कलाकारलाई ऋण खोजेर पारिश्रमिक दिएँ, आफ्नो पनि डेढ लाख खर्च भयो । राष्ट्रिय नाचघरले आयोगबाट पैसा आएको छैन भन्छ, यता साहुलाई ब्याज तिर्नै समस्या भइसक्यो,’ चौरसियाले भने ।
आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) लाई सडक नाटकको जिम्मा दिएको थियो । संस्थानले देशभरका ७ सय ६ स्थानमा सडक नाटक देखाउन २८ वटा नाट्य समूहलाई जिम्मा लगाएको थियो । कुनै पनि समूहले अझैसम्म भुक्तानी पाएका छैनन् ।
निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले उपराष्ट्रपति निर्वाचन र विभिन्न गतिविधिले निर्णयमा ढिलाइ भएको स्विकारे । उनले सांस्कृतिक संस्थानको रकम पास भइसकेको र लेखामा पेन्डिङमा रहेको पनि बताए ।
तर, सांस्कृतिक संस्थानका महाप्रबन्धक थापा भने बुधबार पनि आयोगमा कर्मचारी पठाउँदा ‘चेक बनेको छैन’ भनेर रित्तै फर्काइएको बताउँछन् ।, कान्तिपुरमा खबर छ ।