०१ साउन २०८३, शुक्रबार

वाग्मती सफाइबाट २७ टन फोहर व्यवस्थापन

वाग्मती सफाइबाट २७ टन फोहर व्यवस्थापन
फाइल फोटो

काठमाडौं, १७ चैत- उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५५ औँ हप्तामा आज कुपण्डोल क्षेत्रको नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सामाजिक संस्थाको संस्थागत सहभागिता रहेको थियो ।

सहकारी दिवसका अवसरमा सफाइमा धेरै सहकारीको पनि सहभागिता थियो । कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शिक्षित र धनी मानिसको बसोवास भएको स्थानमा बढी फोहर देखिएको आफ्नो अनुभव सुनाए ।

अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत लगायत ७५० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१६औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–ं ५ स्थित हनुमान वाटिका मुनिको नदी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भएको थियो ।

सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनीमैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए । रुद्रमती सफाइको २१०औँ हप्तामा रातोपुल–ज्ञानेश्वर हुँदै सानो गौचरणस्थित गोरखनाथ मन्दिर परिसरमा जनचेतनामूलक सफाइ गरियो । 

यसैगरी सिफलस्थित भण्डारेश्वर मन्दिर परिसर पनि सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिएी ।। 

सफाइमा काठमाडौँ महानगरपालिका– ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत अभियन्ताको उपस्थिति थियो । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संस्थाको सक्रियता थियो । 

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १६० औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरियो । नदीमा वाग्मती सौन्दर्यीकरणको कार्य भइरहेकाले जनचेतनामूलक अभियान सञ्चालन हो । 

मीनभवन क्षेत्रको आलोकनगर सफाइको ५१औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । चक्रपथ सफाइको ५१ औँ हप्तामा आज चाबहिलचोकदेखि रुद्रमती नदी पुलसम्म सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

चक्रपथको बाफल खण्डको ३३ औँ हप्ताको सफाइका क्रममा स्युचाटार पुलदेखि कलंकी चोकसम्म सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाए ।

salt training

कमेन्ट गर्नुहोस्