३० जेठ २०८३, शनिबार

गाउँ फर्किइन् राधा, देउकलियामा अविर जात्रासहित सम्मान

चैत १७, २०७४
गाउँ फर्किइन् राधा, देउकलियामा अविर जात्रासहित सम्मान

धनगढी, १७ चैत– बोक्सी आरोपमा निर्घात कुटिएकी राधा गाउँ फर्किएकी छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षिया राधा फागुन २४ गते बोक्सी आरोपमा गाउँकै तान्त्रिक बोले बाबा उर्फ रामबहादुर चौधरीलगायतबाट निर्घात कुटिएकी थिइन् । कुटपिटबाट घाइते बनेकी उनी २२ दिनको धनगढी बसाईपछि गाउँ फर्केकी हुन् ।

देउकलियाका भल्मन्सा (थारु समुदायको मुखिया) राजाराम चौधरी सहितको टोलीले उनलाई गाउँ फर्काएको हो । उनलाई गाउँमा अविर जात्रासहित गाउँलेहरुले भव्य स्वागत तथा सम्मान गरेका छन् ।

स्थानीयहरुले अब सामूहिक रुपमै रुढीवादी परम्परा विरुद्ध लड्ने प्रण समेत गरेका छन् । स्वस्फुर्त कार्यक्रममा उपश्थित भएका स्थानीयहरुले पुनः त्यस्तो घटना दोहोरिन कहिल्यै नदिने प्रतिबद्धता समेत जनाएका छन् । 

भल्मन्सा (थारू मुखिया) राजाराम चौधरीले समाजमा मेलमिलापको वाताबरण कायम गर्न औपचारिक कार्यक्रमको आयोजना  गरेको बताए । स्थानीय समाजसेवी जीतबाहादुर चौधरीले सबैको हातेमालोले मात्रै समाज परिवर्तन हुने भएकाले सबै एकजुट हुनुपर्ने बताए । 

कार्यक्रममा राधा चौधरीले आफ्नो जस्तो घटना कसैको चेलीबेटीले भोग्न नपरोस भन्दै सबै नारी एउटै भएका कारण कसैलाई पीडा दिएमा आफूहरु अब चुप नबस्ने बताइन् । साथै उनले बोक्सी हुदैनन् भन्ने शिक्षा प्रवाह सबैले गनुपर्ने आग्रह गरिन् ।

यसैबीच स्थानीयहरुले उनलाई आर्थिक सहयोग समेत प्रदान गरेका छन् । स्थानीयहरुले ३ हजार ५५ रुपैया र एशोसियसन अफ एग्रीकलचर नेपाल सुखड शाखाका प्रमुख बिनोद चौैधरीले १ हजार ५ रुपैया प्रदान गरेका थिए ।
राधालाई बोक्सी आरोपमा कुटपिट गर्ने ६ जनाविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको छ । 

भोले बाबा उर्फ रामबहादुर चौधरी, किस्मती उर्फ किस्मत चौधरी, पार्वती उर्फ स्मारिका चौधरी, चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीविरुद्ध मुद्धा दायर भएको छ । उनीहरु विरुद्ध थप कानूनी प्रक्रिया समेत अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐनअनुसार दोषिलाई ५ देखि ८ वर्ष जेल सजाय र ५० हजारसम्म जरिवाना हुने प्रावधान छ ।

salt training

कमेन्ट गर्नुहोस्