
काठमाडौं, १८ चैत– मुलुकको आर्थिक अबस्थाको श्वेतपत्र जारी भएपछि पहिलो पटक खुलेको शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । पछिल्ला दिनमा लगातार जसो ओह्रालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतवार पनि ओरालो लागेको हो । श्वेतपत्र मार्फत पूँजीबजारको समस्या सम्वोधन गरिएपछि आइतवार बजारमा केही सुधारको अपेक्षा गरिएको थियो ।
आइतबार नेप्से २४ दशमलव ५ अंकले घट्दै ११ सय ९६ दशमलव २४ अंकमा आइपुगेको हो । यसैगरी आइतबारको सेन्सेटिभ इन्डेक्स ५ दशमलव १९ अंकले घटेको छ । गत सोमबार ५२ अंकले घटेको बजारमा सर्किट ब्रेकर नै लगाउनु परेको थियो ।
त्यसपछि भोलीपल्ट मंगलबार बजारमा केही सुधार हुँदै ३९ अंकले बढेर १२ सय विन्दु माथि पुगेको थियो । ११ सय ६८ अंकमा आएको बजार मंगलबार १२ सय ७ विन्दुमा पुगेको थियो ।
अर्थतन्त्रको अबस्थावारे सरकारको आधिकारिक धारणले बजार सुधार हुने आशा गरिए पनि आइतबार फेरी लगानीकर्तामा निराशा देखिएको छ ।
सरकारले गत शुक्रबार जारी गरेको श्वेतपत्रमा शेयर बजार आन्तरिक लगानीको मुख्य स्रोत भएकाले यसलाई व्यवस्थित गर्न नीतिगत सुधारको खाँचो रहेको औंल्याएको थियो ।
अर्थमन्त्रीले शेयर बजारको संवेदनशीलताको ख्याल नगरी गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आन्दोलनमा उत्रिएको लगानीकर्ताको फोरम इन्भेष्टर फोरम समेत श्वेतपत्र सकारात्मक भएको प्रतिक्रिया दिदै बजार राम्रो हुने आशा व्यक्त गरेका थिए ।
लगानीकर्ताको अर्को समुहले भने श्वेतपत्रले शेयर बजारमा राम्रोसँग सम्बोधन गर्न नसकेको भन्दै आलोचना गरेका थिए । श्वेतपत्रमा नेपालको पूँजी बजार सतही रहनुका साथै दायरा संकुचित रहेको उल्लेख गरिएको छ ।
श्वेतपत्रमा उल्लेख छ, ‘पूँजी बजारमा हाल २०८ कम्पनी सूचिकृत रहे पनि तीमध्ये ७५ प्रतिशत वित्तीय स.स्थाहरु छन् । पूँजी बजारको कूल कारोबारमा वित्तीय स.स्थाहरुको अंश ८१ प्रतिशत रहेको छ ।
अर्थतन्त्रमा साधन परिचालन गर्न पुँजी बजार सशक्त माध्यम भएतापनि यस्तो बजार हाल धीतोपत्रमा मात्रै सिमित रहेको छ । पूँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न सकिएको छैन । समग्रमा पूँजी बजारमार्फत ठूलो परिमाणको स्वलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ ।’
श्वेतवले शेयर लगानी सम्बन्धि ज्ञानको अभाव रहेकाले यसको सुधारमा समेत जोड दिएको छ ।
पढ्नुहोस् यो पनि