
नयाँदिल्ली, २४ चैत - प्रधानमन्त्री केपी ओली नयाँदिल्ली उत्रिएलगत्तै भेटघाटमा व्यस्त भएका छन् । भेटको सुरुवात उनले प्रतिपक्षी दलका नेताहरूबाट गरे ।
सबैभन्दा पहिला वरिष्ठ राजनीतिज्ञ शरद यादवलाई भेटेका उनले लगत्तै कंग्रेस अध्यक्ष एवं प्रतिपक्षी दलका नेता राहुल गान्धी र पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहसँग भेटघाट गरे । त्यसअघि उनले व्यापारिक समुदायलाई भेटेर नेपालमा लगानीको वातावरण बनेको र सुुरक्षासमेत रहेकाले लगानी गर्न आग्रह गरिसकेका थिए, कान्तिपुरमा खबर छ ।
व्यापारिक समुदायलाई सम्बोधनलगत्तै राष्ट्रपति भवन फर्केका उनलाई भेट्न भारतीय कंग्रेसका अध्यक्ष गान्धी पुगेका थिए । गान्धीले नेपालमा सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकारले राजनीतिक स्थायित्व कायम गर्दै विकाससमेत गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । स्रोतका अनुसार उनले नेपालमा अनुभवी राजनीतिज्ञ रहेको भन्दै पुराना पुस्ताको प्रशंसासमेत गरेका थिए । नेपालको राजनीतिक स्थायित्व र विकास भारतको चाहना रहेको उनको धारणा थियो ।
छिमेकसँगको सम्बन्धलाई भारतले सधैं प्राथमिकता दिनेसमेत स्पष्ट पारेको भेटमा संलग्न एक प्रतिनिधिले जनाए । ओलीले पनि आफूले छिमेकसँग राम्रो सम्बन्ध राखेर अघि बढ्न लागेको स्पष्ट पारेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । प्रधानमन्त्रीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट गरेका थिए ।
यसअघि ४५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान नयाँदिल्ली उत्रिएका प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । शुक्रबार साँझ ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीछ पनि भेट भयो |