
काठमाडौं, २५ चैत– नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गर्ने क्यानडियन नागरिक पक्राउ परेका छन् । प्रहरीले उनलाई काभ्रेपलान्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नं। १ बाट पक्राउ गरेको हो ।
६० वर्षीय पिटर जोन डलगिसलाई देउपुरस्थित चिलकाजी महर्जनका घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको कोठाबाट १२ र १४ वर्ष उमेरका २ जना नेपाली पीडित बालकहरूलाई समेत उद्दार गरिएको छ ।
पिटरले नेपालमा बिगत २ बर्षदेखि हिमालय कम्युनिटि फाउन्डेसन संचालन गरी गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको र ती समुदायबाट छनौट गरिएका वालकहरूलाई पढाईदिने, बिदेश घुमाईदिने लगायतका प्रलोभनमा पारी वालकहरूलाई यौन शोषण गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । पिटरद्वारा धेरै वालवालिकाहरू पीडित भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पिटरले युद्ध पीडित वालवालिका, कामदार वालवालिका तथा सडक वालवालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका थिए । ३ वटा मानार्थ बिध्यावारिधि प्राप्त गरेको, पिटर स्ट्रिट किड्स इन्टरनेशनलका संस्थापक हुन् ।
उनी युएन बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार थिए ।उनले लाईवेरियामा र डार्फुरमा समेत काम गरेको पत्ता लागको प्रहरीले जनाएको छ ।
पिटरलाई बाल यौन दुराचार अपराध मुद्धा अन्तर्गत अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।