![बाबुआमाको दुःख देखेर स्कूले विद्यार्थीले बनाए विद्युतीय हलो [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Halo_Banner_jTFzbwxzww.png)
काठमाडौं, २५ चैत- आइतवार बिहान पौने ९ बजे कोटेश्वर चोकमा भर्खरै गाउँतिरबाट आएको जस्तो देखिने दुई किशोर बानेश्वर जाने टेम्पो कुरेर बसिरहेका थिए ।
‘बानेश्वर जान्छ ?’ उनीहरूले टेम्पो चालिकालाई सोधे ।
उनीहरूले हातमा समाएको खेलौना देखेर एकछिन त टेम्पोवाली अलमलमा परिन् ।
‘जान्छ, छिटो बस्नुस !’
शरीरलाई भन्दा हातमा रहेको हलोलाई उनीहरूले जतन साथ समाते ।
हातमा हलो समाएका किशोरहरू देख्दा जिज्ञासा लागेपछि मैले सोधेँ । उनीहरू बानेश्वरमा रहेको एक संस्थामा आफूहरूले बनाएको प्रविधि प्रदर्शन गर्न काठमाडौं आएका रहेछन् ।
नविन्द्र चौडेल र सरोज दाहाल ललितपुरको वाग्मती गाउँपालिकास्थित जनक माध्यमिक विद्यालय गिम्दीका कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।
उनीहरूले लगाएको चप्पलबाट पनि थाहा हुन्थ्यो, उनीहरूको आर्थिक अवस्था । ‘हुन त ललितपुर राजधानी शहर हो, तर हाम्रो गाउँ ‘ललितपुरको कर्णाली’ भन्दा पनि हुन्छ,’ नविन्द्रले भने ।
नविन्द्र र सरोज दुवैका बुवाआमा खेती किसानी गर्छन् । देशका अन्य क्षेत्रमा जस्तै गिम्दीमा पनि मानिसहरूले खेत जोत्न गोरु पाल्न छाडेका छन् ।
युवाहरू विदेश भ्रमणमा गएका कारण खेतबारी बाँझो बन्दैछन् । ‘गाउँमा बुवाआमाको दुःख देखेर हामीले यो विद्युतीय हलो बनाएका हौं, यसलाई व्यवहारिक बनाउन सकियो भने किसानहरूलाई धेरै फाइदा हुनेछ,’ नविन्द्रले भने ।

यिनीहरूको परिकल्पनाको आधुनिक हलोसहितको मेसिनले खेतको झार काट्ने, माटोका डल्ला फुटाउने र पानीसमेत छर्ने काम गर्छ । ‘शुरुमा हलो र हलोलाई तान्ने विद्युतीय गाडी बनायौं, यत्ति त ट्र्याक्टरले नै गर्छ भनेर चित्त बुझेन,’ उनीहरूले लोकान्तरसंग भने, ‘अनि खेतको घाँस काटन्, पानी र मल छर्न मिल्ने प्रविधि पनि जोड्यौं ।’
टिच फर नेपाल नामक संस्थामार्फत् दुर्गम गाउँमा पढाउन गएका विज्ञान शिक्षक रुविन चौधरीले नै उनीहरूलाई यस्तो प्रविधि सिकाएका हुन् । डिजेल र पेट्रोलबाट चल्ने ट्र्याक्टरको विकल्पमा आफूहरूले बिजुलीबाट चल्ने हलोको अवधारणा ल्याएको उनीहरू बताउँछन् ।
‘पेट्रोलले प्रदूषण बढाउँछ, ब्याट्रीबाट चल्ने हलोले खेत जोत्न थालियो भने सरकारलाई बिजुली उत्पादनमा दबाब पर्छ,’ सरोज भन्छन् ।
‘हामीले बाहुबली सिनेमा पनि हेरेका थियौं, त्यो पनि एउटा प्रेरणाको स्रोत हो,’ सरोजले लोकान्तरसँग भने । एसएस राजमौलीले बनाएको सिनेमामा स्थानीय स्रोत साधनको प्रयोगबाट समस्या समाधन देखाइएको छ ।
विज्ञान र आविस्कारका खबर पढ्न र हेर्न रुचाउने नविन्द्रले भविष्यमा विज्ञान पढ्ने योजना रहेको सुनाए । ‘आर्थिक स्थिति त छैन, तर स्कलरसीप पाएमा साइन्स पढ्ने योजना छ,’ उनले भने ।
आफूहरूले बनाएको विद्युतीय हलोको प्रदर्शनी र प्रविधि सिक्न उनीहरू केही समयपछि विदेश जाने प्रक्रियामा छन् । कुनै संस्थाको प्रायोजनमा उनीहरूले कुनै एक विकसित देशको भ्रमणको अवसर पाउँछन् ।
हेर्नुहोस्, विद्यार्थीले बनाएको विद्युतीय हलो (भिडियो)