
धनगढी, २९ चैत– भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले ७ नम्बर प्रदेशमा रसायनिक मलको अभाव नहुने बताएकी छन् ।
प्रदेशको माग अनुसार रसायनिक मलको आपूर्ति गर्ने कार्य भैरहेको बताउँदै उनले अभाव हुन नदिने बताइन् ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरको २१ औं वार्षिकोत्सव कार्यक्रमलाई आज (बिहीवार) सम्बोधन गर्दै मन्त्री चौधरीले आपूर्ति संगै सहकारीमार्फत किसानहरुलाई मलको बिक्री बितरण समेत भइरहेको बताइन् ।
वितरणसँगै मल वितरक कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्पोरेसनले यहाँको आवश्यकताको मल भण्डारण गरिरहेको मन्त्री चौधरीको भनाइ थियो । साथै, मल सँगै किसानहरुलाई बिउ बिजन र सिँचाइको सहजताको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको पनि उनले उल्लेख गरिन् ।
त्यस्तै उनले प्रदेशमा सहकारीकै माध्यमबाट कृषि क्षेत्रमा व्यावसायिकता हासिल गरी रोजगारी सिर्जना गर्ने बताइन् । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममै कृषि क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेको बताउँदै कृषिमा लगानी गरी रोजगारी सिर्जना गर्ने बताएकी हुन् ।