२२ असार २०८३, सोमबार

छक्का पञ्जाले कमायो १६ करोड : नयाँधारका फिल्मले सिने उद्योगलाई पुनर्जीवन

कात्तिक २०, २०७४
छक्का पञ्जाले कमायो १६ करोड : नयाँधारका फिल्मले सिने उद्योगलाई पुनर्जीवन

काठमाडौं, २७ मंसिर — पछिल्लो समय नेपाली चलचित्रको बजार विस्तारमा आशाजनक सुधार आएको छ । सिनेमा हलमा नेपाली चलचित्रले क्रमिक रूपमा व्यापार गर्न थालेका छन् । भदौ २४ मा प्रर्दशनमा आएको चलचित्र ‘छक्का पञ्जा’ले नेपाली चलचित्र इतिहासमा रेकर्ड नै कायम राख्यो । निर्माता तथा हास्यकलाकार दीपकराज गिरीका अनुसार यो फिल्मले अहिलेसम्म १६ करोडको हाराहारीमा व्यापार गरिसकेको छ । अहिले पनि मल्टिप्लेक्स हल सहित काठमाडौंका १२ हलमा यो चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।

व्यावसायिक रूपमा चलचित्र निर्माण गर्ने निर्माता माधव वाग्ले आफ्नो चलचित्र ‘जात्रा’ले ५० लाख नाफा कमाइसकेको बताउँछन् । वाग्ले भन्छन्, ‘नेपालमा राम्रा फिल्म बन्ने हो भने भारतीय
चलचित्र आफैं विस्थापित हुन्छन् । नेपाली सिनेमा रुचाउने दर्शकको कमी छैन ।’चलचित्र ‘छक्का पञ्जा’ले ५१ दिन मनाइसकेको छ । निर्माता गिरी भन्छन्, ‘नेपाली चलचित्र इतिहासमै छक्का पञ्जाले मल्टिप्लेक्स हलमा पहिलोपटक ५१ दिन मनाएको हो । अब यो फिल्मले १०० दिन मनाउने तयारीमा छ ।’

के नेपाली चलचित्रका दर्शक बढेका हुन् ? यहाँ दर्शकको कमी छैन तर राम्रो चलचित्र बन्नुप—यो । राम्रो चलचित्र बन्ने हो भने नेपाली चलचित्रको बजार विश्वभरि फैलाउन सकिन्छ भन्ने बुझाई छ गिरीको । उनी भन्छन्, ‘हिन्दी चलचित्रले बलिउडमा १०० करोडमा दर्ता गराउन सफल भएपनि नेपालमा भने राम्रो कमाउन सकेनन् ।’

थिएटरबाट अभिनयमा आएका कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँलाई भने नेपाली चलचित्रको बजार अझै बनिसकेको भन्ने लाग्दैन । ‘हामीले राम्रो चलचित्र बनाउँदा लगानी उठाउन सक्ने रहेछौं । बजारको चिन्ता लिनुपर्ने देखिन्न ।’ उनी भन्छन्, ‘बनेका सबै चलचित्र हिट हुन्छन् भन्ने पनि छैन तर दर्शकले नेपाली चलचित्र हेर्ने माहोल बनिसकेको छ ।’

बानियाँका अनुसार चलचित्र बनाउन अझै पनि जोखिम छ । नेपाली सिने बजार व्यवस्थित भने भएको छ । त्यसो त अन्य देशमा बनेका सबै चलचित्र हिट हुँदैनन् । यद्यपि राम्रा चलचित्र बनाउने हो भने हाम्रो बजार माथि उठ्न सक्छ । अहिले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा समेत बजार खोजेको उनको धारणा छ ।

‘प्रविधिको हिसाबले नेपाली चलचित्र त्यति माथि उठ्न नसकेपनि पहिलेको दाँजोमा हामी धेरै अगाडि पुगिसकेका छौं,’ सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान भन्छन्, ‘अहिले नेपाली सिनेक्षेत्रमा स्तरीय क्यामेराहरूको प्रयोग हुन थालेको छ ।’ पहिले हलिउडले ७० एमएम र बलिउडले ३५ एमएमका क्यामेरा चलाउँदा हामीले १६ एमएमका क्यामेरा प्रयोग हुने गरेकोमा अहिले दैनिक प्रयोजनका क्यामेराभन्दा ६ गुणा स्तरीय खिच्ने एचडी क्यामेराको प्रयोग गर्न थाल्नु सुखद पक्ष भएको उनको भनाई छ ।

‘फिल्म बन्न क्यामेराको संयोजनले मात्र हुँदैन । यसका लागि अन्य केही तत्वहरू पनि आवश्यक छन् । विकसित देशमा कथा अनुसारको क्यामेरा प्रयोग गरिन्छ । हामीकहाँ त्यो सम्भव छैन,’ प्रधान भन्छन्, ‘हामीले एकादेशका कथालाई क्यामेरामा उतार्न सक्छौं तर हामीसँग फिक्सन चलचित्रका लागि चाहिने साम्रगीको खाँचो छ ।’

नेपाली सिनेमा दर्शकलाई मन पर्नुको कारण हामीले उठान गरेका विषयवस्तु हुन् भन्ने समीक्षकहरू बताउँछन् । लूटपछि बनेका पृथक् धारका अन्य चलचित्र व्यापारिक रूपमा सफल भएका छन् । पशुपतिप्रसाद, कबड्डी, साँघुरो, धन्दा, छक्का पञ्जा, वडा नम्बर ६, टलकजंग भर्सेस टुल्के लगायतका चलचित्रमा नेपाली समाजका कथालाई उठान गरिएको छ । यसर्थ यी फिल्महरू नेपालीद्वारा रुचाइएका हुन् भन्ने प्रधानलाई लाग्छ । पुरुषोत्तम भन्छन्, ‘पहिले कथा हिन्दी फिल्मबाट चोरिन्थ्यो । अहिले हामीले नेपाली समाजबाट खोज्छौं । दर्शकले चोरिएका फिल्म हेर्न रुचाउनु हुँदैन भन्ने यसैबाट प्रस्ट हुन्छ । हामीमा पटकथाको समस्या छ ।’

दीपकराज गिरीलाई नेपाली चलचित्रका दर्शक असीमित छन् भन्ने लाग्छ । ‘हिन्दी चलचित्र रुचाउने दर्शक युवापुस्ता मात्र हो तर नेपाली चलचित्र हेर्न दर्शक घरघरबाट उठेर आउँछन्,’ उनी भन्छन्, ‘छक्का पञ्जा हेर्न आठ वर्षको बच्चादेखि ९० वर्षीया हजुरआमा समेत हलमा आउनुभएको छ । प्रमाण यही हो ।’

जे होस्, पछिल्लो समय नेपाली सिनेकर्मीमा एउटा आशा छाएको छ । राम्रो चलचित्र निर्माण गर्न सक्यो भने नेपाली चलचित्रलाई माया गरिदिनुहोला भनेर आग्रह गर्न नपर्ने संकेत केही चलचित्रले दिएका छन् । विदेशमा मात्रै बिक्री गरेर नेपाली चलचित्रले आफ्नो लगानी उठाउन सक्ने स्थिति आइसकेको छ । भारतीय नाकाबन्दी र भूकम्पको असरले सिनेमा क्षेत्रलाई असर गरेपनि दर्शकमा आत्मीयता र आफ्नो संस्कृतिको आभास भएको छ ।

स्तरीय चलचित्र निर्माण गर्ने र बजार व्यवस्थापन गर्ने हो भने नेपाली चलचित्रले पनि करोडौं नाफा कमाउन सक्ने कुरालाई छक्का पञ्जा, जात्रा लगायत केही चलचित्रले प्रमाणित गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्