
विराटनगर, ५ वैशाख-मोरङ जिल्ला अदालतले धरौटी मागेपछि वाणिज्य वैंक बन्दरगाह शाखाका प्रबन्धक र काउण्टर इञ्चार्ज पुर्पक्षको लागि जेल चलान भएका छन् ।
मोरङ जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि राष्ट्रिय वाणिज्य बैंक रानी बन्दरगाह शाखाका प्रबन्धक विष्णुप्रसाद निरौला र काउण्टर इन्चार्ज तोर्णराज राउत पुर्पक्षको लागि जेल चलान भएका हुन् ।
पैसा नभएको बैंक खाताको अकाउण्ट पेयी चेक दिएर भन्सारबाट सामान क्लियर गराउन मिलेमतो गरी ९ करोड ६१ लाख ५५ हजार घोटाला गरेको आरोप उनीहरूमाथि लागेको थियो ।
मोरङ जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र बोलेन्द्र रुपाखेतिको इजलासले बैंकका प्रबन्धक निरौलालाई दुई करोड र बैंकका भन्सार काउण्टर इञ्चार्ज राउतलाई २ करोड ५० लाख धरौटी माग गरेको थियो । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरू कारागार चलान भएका हुन् ।
भन्सार एजेन्ट अझै फरार
अदालतले बैंकका कर्मचारीलाई धरौटी मागेर जेल हाले पनि अहिलेसम्म भन्सारमा क्लियरिङ गरेर पैसा नै नभएको बैंकको चेक दिने भन्सार एजेण्टहरू अहिले पनि फरार छन् ।
अदालतको उक्त आदेशपछि बैकिङ कसुरका मुख्य अभियुक्त भन्सार एजेन्टहरू सुरेश बोहरा र ललित बोहरा फरार छन् । उनीहरु अदालतले तोकेको म्यादभित्र हाजिर हुन आउने सम्भावना कमजोर बनेको छ । अदालतमा हाजिर भए पनि उनीहरूलाई कर्मचारीको भन्दा बढी धरौटी माग गर्ने सम्भावना छ । एजेन्टद्वययलाई जोगाउनका लागि विराटनगरका केही उद्योगी तथा व्यापारी सक्रिय छन् ।
यसरी भयो घटना
सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिस विराटनगरका सञ्चालक बोहराद्वयले विभिन्न कम्पनीका एकाउण्ट पेयी चेक भन्सारबाट राजश्व उठाउने नेपाल सरकारको बैंक खातामा जम्मा गरेका थिए । खातामा पैसा नभएका ती एकाउण्ट पेयी चेकलाई सदर गरेर बैंक ठगी गरेको आरोपमा मोरङ प्रहरीले वाणिज्य बैंकका प्रबन्धक निरौला र काउण्टर इन्चार्ज राउतलाई गत फागुनको दोस्रो हप्ता पक्राउ गरेको थियो ।
उनीहलाई तत्काल पक्राउ गरिएको भए पनि घटना बाहिरिएलगत्तै बोहरा दाजुभाइ फरार छन् । बैंक कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा ८ वटा एकाउण्ट पेयी चेक वाउन्स भएर वाणिज्य बैंकमा भेटिएका थिए । बैंकका कर्मचारीले एजेन्टबाट रकम नभएको चेक बुझेका कारण बैंकलाई ९ करोड ६१ लाख ५५ हजार बरावरको नोक्सानी भएको बताइएको छ ।