
काठमाडौं, ६ वैशाख– नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा बिहीबारबाट शुरु हुँदैछ । बिहान ११ बजे काठमाडौंमा शुरु हुने साधारणसभा भोलिसम्म चल्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर नयाँ विधान तयार पारिएकाले साधारणसभाले पारित गर्ने विधानलाई आईसीसीले मान्यता दिँदै नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवा गर्ने सम्भावना रहेको छ ।
गएको भदौमा भएको क्यानको विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधानलाई संशोधन गर्दै साधारणसभामा १७ जना सदस्यले भोट हाल्न र चुनावमा उठ्न पनि पाउने तथा राष्ट्रिय खेलकुद परिषद्का सातजना पदाधिकारी बिना मताधिकार साधारणसभामा रहन पाउने व्यवस्था गरेपछि आईसीसीले अस्वीकृत गरेको थियो ।
गएको माघमा आईसीसीसँगको छलफलमा ती बुँदा संशोधन गर्न राजी भएका क्यानका पदाधिकारीले नयाँ विधान मस्यौदा साधारणसभामा पेश गर्न लागिएको छ । क्यानको साधारणसभाले सहमति बमोजिम विधान पारित गरे आईसीसीले आगामी जुन महिनामा हुने वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको छ ।