२९ असार २०८३, सोमबार

वीरेन्द्रनगरको सिटी बसपार्क निर्माणमा ढिलाइ, थपिएको म्यादमा काम नभए ठेकेदारलाई कारवाही

बैशाख १३, २०७५
वीरेन्द्रनगरको सिटी बसपार्क निर्माणमा ढिलाइ, थपिएको म्यादमा काम नभए ठेकेदारलाई कारवाही

सुर्खेत, १३ वैशाख– सिटी बसपार्क निर्माणमा ढिलाइ भएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले निर्माण कम्पनीसँग म्याद थपको  सम्झौता गरेको छ । 

वीरेन्द्रनगर नगरपालिकाको पहलमा केही दिनअघि बाँकेको नेपालगञ्जमा बसेको निर्माण कम्पनी र सम्वन्धित सरोेकारवाला निकायबीचको वैठकले आगामी मे महिनाको २० तारिक (जेठको ६ गते) सम्म बाँकी रहेको निर्माणकार्यको ५० प्रतिशत काम सम्पन्न गर्ने निर्णय गरेको छ  । बैठकमा निर्धारित समयमा कार्य सम्पन्न नभएको खण्डमा म्याद थप नगर्ने र सम्झौता बमोजिम कारवाही गर्ने लिखित समझदारी भएको छ ।

बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनीले सुनुवाइ नगरेपछि यस्तो समझादारी गर्नुपरेको वीरेन्द्रनगर नगरपालिकाकी  उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । 

‘वीरेन्द्रनगरमा बसपार्कको समस्याका कारण व्यवसायीहरुको गुनासो बढेको थियो’ उनले भनिन्, ‘हामीले अब तत्काल काम शुरु नगरे म्याद नथप्ने र सम्झौता बमोजिम कारवाही गर्ने निर्णय गराएका हौं ।’ उपप्रमुख ढकालले नगरपालिका विकास निर्माणको कार्यमा ढिलाइ भएको टुलुटलु हेरेर बस्ने अवस्थामा नरहेको बताइन । ‘हामीलाई जनताले महत्वपूर्ण म्याण्डेट दिएका छन्’ उनले भनिन्, ‘जनताको भावना बमोजिम काम गर्ने प्रमुख उदेश्य हाम्रो रहेको छ ।’ 

उक्त निर्णयमा नगर विकास कोषका निमित्त निर्देशक विनोद न्यौपाने, रविन्द्र प्रधानाङ्ग, वरिष्ठ इन्जिनियर हिरालाल महतो, वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारी, निर्माण व्यवसायी नरसिंह शाहीलगायतले हस्ताक्षर गरेका छन् ।

पछिल्लो पटक थपिएको म्यादअनुसार निर्माण कम्पनी चाङमला र नरसिंह जेभी दार्चुलाले यही वैशाख मसान्तसम्म पुरा गरी नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर, वैशाखको आधा महिना लागिसक्दा निर्माणको करिब २५ प्रतिशत काम अधुरै छ । कालोपत्रे, टर्मिनल भवनको रङरोगन लगायतका कामहरू बाँकी नै छन् । चाङमला र नरसिंह जेभी र नगर विकास समितिबीच २०७२ माघमा निर्माण सम्झौता भएको थियो । १५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि दुईपटक म्याद थप्दासमेत निर्माण पूरा गर्न सकेनको छैन ।

६ करोड ८३ लाखमा निर्माण लागत रहेको बसपार्कमा ५६ वटा व्यापारिक सटर, दुई पक्की शौचालय, पर्खाल, गार्ड बस्ने घर, टर्मिनल भवन, टिकट काउन्टरको निर्माण भइसकेको छ । करिब चार हजार पाँच सय वर्गमिटर क्षेत्रफल रहेको निर्माणाधीन बसपार्कमा सानाठूला गरी १ सय २० वटा बस अट्न सक्ने क्षमता रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्