
जनकपुरधाम, १४ वैशाख–जनकपुरमा झण्डै एक दशकपछि कक्षा १२ को परीक्षा मर्यादित भएको छ । शुक्रबारबाट शुरु भएको कक्षा १२ को परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा मर्यादित ढंगले सम्पन्न भएको छ । विगत १० वर्षदेखि परीक्षा अमर्यादित हुँदै आएको पृष्ठभूमिमा यसवर्ष कक्षा १२ को परीक्षा भने एकाएक मर्यादित हुन सफल भएको हो ।
लोकान्तारकर्मी विभिन्न परीक्षा केन्द्रमा पुग्दा अत्यन्तै मर्यादित तथा व्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइयो । जनकपुरको पब्लिक युथ क्याम्पसमा सञ्चालन भइरहेको परीक्षामा जनकपुरकै मीट क्याम्पसका कुल ६ सय २४ विद्यार्थीहरूले परीक्षा दिइरहेका छन् । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष शिव नारायण झाले परीक्षालाई व्यवस्थित गर्न प्रवेशद्वारमै चेकजाँच गरिएको थियो ।
केन्द्राध्यक्ष झाले भने, ‘शुरुमा विद्यार्थीहरू परीक्षाहलमा प्रवेश गर्ने चाहँदैनथे, किनभने शरीरको खानतलासी भइरहेको थियो, तर पछि सबै परीक्षार्थी परीक्ष दिन तयार भए ।’ कतिपय कक्षाकोठामा एउटा बेञ्चमा तीनजना त केहीमा एउटा बेञ्चमा दुईजना परीक्षार्थीलाई राखेर परीक्षा लिइएको थियो ।
कक्षाकोठाको अभाव भएको र परीक्षार्थीहरूको संख्या बढी भएकाले कुनै कोठामा एउटा बेञ्चमा तीनजना परीक्षार्थीलाई परीक्षा लिनुपरेको भए पनि आगामी दिनदेखि त्यो समस्या नरहने केन्द्राध्यक्ष झाले लोकान्तरसँग बताए ।
त्यसैगरी मीट क्याम्पस परीक्षाकेन्द्रमा राजर्षी जनक क्याम्पसका ६ सय ३५ जना परीक्षार्थीहरूले परीक्षा दिएका थिए । त्यहाँ पनि परीक्षा अत्यन्तै मर्यादित ढंगले सञ्चालन भएको थियो । उक्त केन्द्रका केन्द्राध्यक्ष मनोज साहले भने, ‘परीक्षा अत्यन्तै मर्यादित ढंगले सम्पन्न हुन पाएको छ । यो परीक्षा ऐतिहासिक किन पनि हो भने यही १२ कक्षाका विद्यार्थीहरूले गत वर्ष कक्षा ११ को परीक्ष दिँदा यति मर्यादिन हुन सकेको थिएन ।’
मोडेल क्यामोपस जनकपुरका ५ सय २५ जना विद्यार्थीहरू जनकपुरकै राजर्षी जनक क्याम्पसमा परीक्षा दिएका छन् । उक्त केन्द्रका केन्द्राध्यक्ष धर्मेन्द्र झाले पनि अत्यन्तै व्यवस्थित तथा मर्यादित ढंगले परीक्षा सञ्चालन गरेका थिए । ‘विगतका वर्षहरूमा यतिसम्म परीक्षा बिग्रेको थियो, तर यसवर्ष सबै तहका परीक्षालाई मर्यादित बनाउन लोकान्तरले खेलेको भूमिकाकै कारण परीक्षा मर्यादित हुन सफल भएको छ,’ केन्द्राध्यक्ष झाले भने ।
राजर्षी जनक क्याम्पसका सञ्चालक नीरज झाले पनि बिग्रेको परीक्षा सुधार्न लोकान्तरको भूमिकालाई प्रसंशा गर्दै भने, ‘जनकपुरमा अमर्यादित परीक्षा हुन्छ भनेर ठूलै कलंक लागेको अवस्थामा यसपटक परीक्षा मर्यादित भएको छ, अब सधैँका लागि यो क्रमले निरन्तरता पाउने छ ।’
उनले थपे, ‘जनकपुरको शिक्षाको स्तर धेरै नै खस्किसकेको थियो, बल्ल अब परीक्षा ट्र्याकमा आएको छ, अब गुणस्तरीय शिक्षाको प्रतिस्पर्धा हुनेछ ।’

जनकपुरको मोडल बहुमुखी क्याम्पसको परीक्षा केन्द्रमा विज्ञान अध्ययन केन्द्र, धनुषा साइन्स क्याम्पस र पब्लिक युथ क्याम्पस गरी कुल तीनवटा क्याम्पसका ७ सय ७५ जना परीक्षार्थीहरू मध्ये ४१ जना अनुपस्थित रहेका थियो । उक्त केन्द्रमा त सीसीटिभी क्यामेराको निगरानीमा परीक्षा लिइएको थियो । उक्त केन्द्रका केन्द्राध्यक्ष वीरेन्द्र साहले लोकान्तरसंग भने, ‘विगतमा मधेश आन्दोलन, राजनीतिक अस्थिरताका कारण पनि हामी कलेजकै सञ्चालकहरूले परीक्षालाई चाहेर पनि मर्यादित बनाउन सकेका थिएनौं । तर यसपटक लोकान्तरले निरन्तर दिएको दबाबका कारण पनि परीक्षा मर्यादित हुन सफल भएको छ ।’
‘जनकपुर पहिले पनि शिक्षाको केन्द्रबिन्दु थियो, तर परीक्षा अमर्यादित भएकै कारण जनकपुरका राम्रा विद्यार्थीहरू बाहिर पलायन भएका थिए, अब पलायन हुने क्रम पनि यससंगै रोकिने अपेक्षा छ,’ साहले भने ।
त्यसैगरी कुल १२ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूको परीक्षा सञ्चालन भइरहेको जनकपुरकै सामुदायिक विद्यालय संकटमोचन माविमा समेत परीक्षा मर्यादित देखियो । ‘धनुषाका सामुदायिक विद्यालयहरूमा आवश्यक शिक्षकको जनशक्ति समेत पूरा नभएको अवस्थामा कतिपय विद्यालयहरूमा सबै विषयहरूको पठन–पाठन समेत नभएको अवस्थामा अब पनि सरकारले ती जनशक्ति पूर्ति गर्न ध्यान दिनुपर्छ,’ केन्द्राध्यक्ष बलराम साहले भने ।
परीक्षा मर्यादित बनाउन प्रायः सबैजसो केन्द्रमा बिद्यार्थी प्रवेश गर्ने बेलामै कडा चेकजाँच गरेर प्रवेश दिइएको थियो, त्यसका अलावा कक्षा कोठाहरूमा पनि चेक गरिएको थियो । केन्द्राध्यक्षबाहेक निरीक्षकलाई पनि मोबाइल परीक्षा हलमा निषेध गरिएको थियो । यस्तो परीक्षा हुनसक्छ भन्ने कुरा विद्यार्थीहरूले पनि परिकल्पना गरेका थिएनन् भने कतिपय नीजी कलेजका सञ्चालकलाई पनि आत्मविश्वास थिएन ।
पहिलो चरणमा जनकपुरको परीक्षा मर्यादित बनाइएको छ, यसका साथ साथै धनुषाका ग्रामीण क्षेत्रहरूमा पनि परीक्षा कडाइ गर्दै प्रदेशका बाँकी अन्य जिल्लाहरूमा समेत परीक्षा मर्यादित बनाउन प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्ने मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साह बताउँछन् ।
धनुषा जिल्लामा कुल २० वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ जसमध्ये ११ वटा परीक्षा केन्द्र जनकपुर उपमहानगरपालिकामै रहेको छ । परीक्षालाई मर्यादित बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय, सशत्र प्रहरीका उपरीक्षक, परीक्षा बोर्ड कार्यालका प्रमुख समेतको जिल्ला परीक्षा समन्वय समिति बनाइएको छ भने अलग–अलग अनुगमन टोलीसमेत बनाएर परीक्षाको अनुगमन गरिएको छ ।

अमर्यादित परीक्षा सञ्चालन हुने अवस्थामा केंद्राध्यक्षलाई समेत कारबाही गरी निष्कासन गरिने हुनाले सबै परीक्षा केन्द्रहरूमा वैकल्पिक केन्द्राध्यक्षको व्यवस्था गरेर राख्न परीक्षा बोर्डले निर्देशन समेत दिएको छ ।
पहिलो दिनकै जाँचमा अनपेक्षित तरिकाले कडाइ गरिएका कारण अधिकांश परीक्षार्थीले परीक्षा हलमा पूरा समय बिताउन सकेनन् । कतिपय त १ घण्टा बित्नेवित्तीकै उत्तरपुस्तिका बुझाएर निस्केका थिए । विगत एक दशकदेखि जनकपुरमा मर्यादित हुन सकिरहेको थिएन ।
जनकपुरको परीक्षाबारे यसअघि लोकान्तरमा प्रकाशित समाचारहरू :
नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् [भाग १]
त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने [भाग २]
त्रिविको परीक्षामा मनलाग्दी : चिट थुत्नेलाई कुटपिट, शिक्षक कुट्नेलाई जागिर ! [भाग ३]
लोकान्तर समाचार प्रभाव : त्रिविको टोली राराबमा, चिट चोर्न नपाएपछि परीक्षार्थीद्वारा नाराबाजी
लोकान्तर समाचार प्रभाव : अमर्यादित गतिविधि गर्ने १३ परीक्षार्थी निष्कासित
फलोअप : नेता र पुलिसलाई छुट्टै हलमा परीक्षा, विद्यार्थी निष्कासित गरेपछि होहल्ला र नाराबाजी
'चीट सारेर' इञ्जिनियर, सेन्ट्रल इञ्जिनियरिङ कलेजबाट सजिलै पाइन्छ प्रमाणपत्र !