०९ असार २०८३, मंगलबार

बुद्धका नाममा कार्यकर्ता पोस्ने काम, २३ वर्ष अगाडि सकिनुपर्ने काम अझै अपूर्ण

बैशाख १७, २०७५
बुद्धका नाममा कार्यकर्ता पोस्ने काम, २३ वर्ष अगाडि सकिनुपर्ने काम अझै अपूर्ण

बुटवल, १७ वैशाख– लुम्बिनी : अर्थात् विश्व शान्तिको मुहान । आज २५६२ औं बुद्ध जयन्ती । लुम्बिनीलाई केन्द्रमा राखेर यसक्षेत्रको मात्रै होइन, मुलुककै पर्यटन विकास गर्ने कुरा धेरै पटक भएका छन् ।

विश्वभरका बौद्धमार्गीहरुको पवित्र तीर्थस्थलका रुपमा लुम्बिनीलाई विकास गर्ने घोषणा पनि कैयौं पटक भए । लुम्बिनीलाई केन्द्रमै राखेर बुद्धसँग सम्बन्धित यस क्षेत्रका अरु स्थानहरुलाईसमेत समेटेर ग्रेटर लुम्बिनीको अवधारणा आएको पनि धेरै वर्ष भइसक्यो । तर, झण्डै ४० वर्ष अघि बनेको लुम्बिनी गुरुयोजना अहिलेसम्म पूरा हुन सकेको छैन् । लुम्बिनी विकास कोषको एक हजार एक सय १५ बिघा क्षेत्रफलभित्र विभिन्न संरचनाहरु निर्माण गर्ने गरी गुरुयोजना बनेको थियो । 

सन् १९७८ मा जापानी प्रोफेसर केञ्जो टाँगेले यो गुरुयोजना बनाएर सरकारलाई हस्तान्तरण गरेका थिए । ६ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो तर, अहिलेसम्म पूरा भएको छैन् । गुरुयोजना अनुरुपका कामहरु पूरा नहुँदा यहाँका पुरातत्वविद्हरु मात्रै होइन बौद्धमार्गीहरु सबै खिन्न छन् । स्वयम् केञ्जो टाँगे नै यस्तो ढिलासुस्तीले आजित रहेका थिए । 

विकास कोष राजनीतिक भर्ती र स्वार्थको केन्द्र

यस अवधिमा गुरुयोजनाका कामलाई छिटो–छिटो सक्नु त परै जाओस् विकास कोषलाई राजनीतिक भर्ती र स्वार्थको केन्द्र बनाउने कामहरु बरु धेरै भए ।

राजनीतिक नियुक्ति भएर आएका पदाधिकारीहरुबीचको टकरावका कारण गुरुयोजना प्रभावित हुने गरेको छ । राजनीतिक भागवन्डाका आधारमा पदाधिकारी नियुक्त हुने र उनीहरुमा विषयगत विज्ञभन्दा राजनीतिक नेता कार्यकर्ताको रुपमा प्रस्तुत हुँदा समस्या भएको हो । 

पैसा पाएपछि जतिसक्दो अक्षम्य अपराधको पनि सहायक बन्ने पदाधिकारीदेखि गेटपालेसम्मका कैयौं प्रवृत्तिहरु छताछुल्ल हुँदै आएका छन् । मायादेवी मन्दिर परिसरको संवेदनशिल क्षेत्रमा गाडिएको अवस्थामा हालै भेटिएका विदेशीका ‘अस्तु’हरु यसैका पछिल्ला उदाहरण हुन् । 

गुरुयोजनामा यहाँको उत्तर–दक्षिण फैलिएको कोषको जमिनलाई तीन भागमा राखेर विकास गरिएको छ । पवित्र उधान अर्थात मायादेवी मन्दिरतर्फ पुरातात्विक क्षेत्र, बीच भागमा अन्तर्राष्ट्रिय बौद्ध विहारहरू र अर्कोछेउमा बौद्ध स्तूपासहित लुम्बिनी ग्रामका रूपमा क्षेत्र विभाजन गरिएको छ ।

सन् १९९७ देखि युनेस्कोको विश्व सांस्कृतिक सम्पदामा सूचीकृत उद्यान सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । यहाँ मायादेवी मन्दिर, अशोक स्तम्भ, अशोक कालभन्दा अगाडिका इँटाका संरचना, बुद्धकालका संरचनासहितका महत्वपूर्ण पुरातात्विक वस्तु रहेका छन् । यो क्षेत्रको सुन्दर बनाउने तथा पुरातात्विक महत्वको पुष्करिणी पोखरीको निर्माण सम्पन्न भइसकेको छ । 

थेरबादी र महायानीका लागि केन्द्रीय नहरको पूर्व र पश्चिम भाग विभाजन गरिएको छ । त्यहाँ अहिलेसम्म २८ वटा विहार निर्माण भइसकेका छन् । श्रीलंका, बर्मा, थाइल्यान्ड, क्यानडा, कम्बोडिया, चीन, सिंगापुर, फ्रान्स, जर्मनी, जापान, भियतनाम, भारत र नेपालले समेत विहार निर्माण गरेको कोषले जनाएको छ ।

लुम्बिनी ग्राम क्षेत्रमा पर्यटकीय आवासका लागि केही संरचना निर्माण भएपनि अझै पूर्ण भएका छैनन् । यो क्षेत्रमा प्रशासनिक भवन, आवास, खानेपानी व्यवस्थापनका संरचनाहरू निर्माण हुँदैछन् । केन्द्रीय नहरमा मोटरेबल डुंगा चलाइएको छ । यो पनि नियमित हुन सकिरहेको छैन् । नहरछेउमा सोलार बत्तीहरु जडान गरिएको छ । सुरक्षाका लागि १६ किलोमिटर लामो पर्खाल निर्माण र एक सय ७५ थान सीसीटीभीसमेत यहाँ जडान गरिएको छ ।

यी तत्कालै देखिने संरचनाहरु हुन् । तर, गुरुयोजनामा उल्लेख भएका केही पूर्वाधारहरु अझै निर्माण हुन बाँकी छन् । निर्माण गर्न बाँकी १७ संरचनामध्ये १० वटा निर्माण प्रक्रियामा गएको कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको भनाइ छ । 

पाँच हजार जना अट्ने अन्तर्राष्ट्रिय ध्यान केन्द्र र ६ वटा ठूला सांस्कृतिक भवनहरू निर्माण गर्न बाँकी छ । यो हल मेडिटेशन हलका रुपमा निर्माण गर्ने तयारी छ जुन हलको राष्ट्रपति विद्यादेवी भण्डारीले आज शिलन्यास गर्ने कार्यक्रम छ । यस अघि लुम्बिनीमा आएका बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार जना अट्ने सभा हल निर्माणको घोषणा गरेका थिए । सभाहलाको डिजाइनका कामहरु भइरहेका छन् । पहिलो दुई वर्षमा एक खालको हल बनाउने गरी प्रक्रिया अगाडि बढेको योजना प्रमुख भट्टराईले बताए । यसका लागि मात्रै साढे २७ करोडको बजेट अनुमान गरिएको छ । थप काम समेतका लागि यो सभाहलको अहिलेको अनुमान करिब ४२ करोड रुपैयाँ रहेको बताइएको छ ।

टांगेको गुरुयोजना पूरा नहुँदै लुम्बिनी बृहत्तर गुरुयोजनाको अवधारणा आयो । त्यसमा लुम्बिनीसँगै कपिलवस्तु, रामग्रामसम्मका बौद्ध स्मारकहरूको विकास गर्ने योजना समेटिएको छ । कपिलवस्तुको तिलौराकोटमा उत्खननशिवाय अरू केही भएका छैनन् ।  यता नवलपरासीको रामग्राम क्षेत्रलाई भने धेरैले ओझेल परेको सम्पदाका रुपमा लिन्छन् । स्वयम् स्थानीय बासिन्दाहरु समेत यसको विकास र सम्बद्र्धनमा खासै सक्रिय नभएका गुनासाहरु कैयौंपटक पुरातत्वविद्हरुले बताउँदै आएका छन् । रामग्राम क्षेत्र युनेश्कोको सम्पदा सूचीमा पर्ने सम्भावनाको क्षेत्र हो । यहाँ बुद्धको अस्तुधातु रहेको छ । 

क्वाकको शान्ति सहर

कोरियन प्राध्यापक क्वाक योङहोनले त विश्वको शान्ति सहर लुम्बिनीलाई बनाउने परिकल्पना गरेका थिए । उनले लुम्बिनीको नयाँ गुरुयोजना बनाउन १४ वर्ष अध्ययन गरिसकेका छन् । कमलको फूलजस्तै आठ हजार मिटर क्षेत्रफलमा फैलिएको विश्व शान्ति सहर लुम्बिनीलाई बनाउने उनको परिकल्पना हो । यो परिकल्पना अनुरुपको निर्माणका लागि केही वर्ष अघि नै सरकारले स्वीकृती प्रदान गरेको थियो ।

रूपन्देहीका साविकका विभिन्न ११ वटा गाविसलाई समेटेर बनाइएको सो गुरुयोजना १५ वर्षभित्र सम्पन्न गर्ने योजना कोरियन प्रोफेसर क्वाकको थियो । यसअनुरुपका काम अगाडि बढ्न सकेका छैनन् । उदासिनताका कारण क्वाक पनि निराश बन्न लागेको उनका निकटहरु गुनासो गर्न थालेका छन् । क्वाकले केही वर्षअघि मन्त्रीस्तरीय बैठकमा सो योजना देखाएका थिए । वासिङ्टन डीसीसहितका विभिन्न सहरको गुरुयोजना बनाएका क्वाकले लुम्बिनी सहर वातावरण मैत्री र विश्वकै सबैभन्दा सुन्दर सहर हुने बताएका थिए । 

६ हजार चार सय ७५ हेक्टरमा फैलिएको सो सहरलाई क्वाकले कमलको फूलको आकार दिएका छन् । कमलको आठ पत्रजस्तै देखिने सो सहरलाई तीन भागमा विभाजन गर्दै पवित्र उधानदेखि कल्पवृक्षहरु सहितको पैदल मार्गदेखि स्थानीय गाउँ र जोडिएका पहाडमा होम स्टेसम्मको परिकल्पना गरेका छन् ।

गुरुयोजनामा सहरभित्र पाँचवटा रिङरोड, आठ/आठवटा पैदलमार्ग र सत्यमार्गहरू बनाउने कुरा पनि समेटिएको छ । उनको यो पन्ध्रबर्षे गुरुयोजनाको पूर्णताका लागि करिब ७२ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको थियो । पहिलो चरणमा सडक, सिँचाइ र भौतिक पुनर्संरचनाको काम हुनेछ । त्यसका लागि ३२ करोड डलर खर्च हुनेछ । दोस्रो चरणमा आवासीय क्षेत्र, जमिनको प्रयोग गर्न ४० करोड डलर खर्च हुने अनुमान छ । 

ग्रेटर लुम्बिनीमा पर्ने क्षेत्रहरु

युनेस्कोको विश्व सम्पदा सुचीमा रहेको लुम्बिनी क्षेत्र बाहेक रुपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लाका बुद्धसंग सम्बन्धित स्थानहरु सम्पदा तिलौराकोट, देवदह र रामग्रामलाई समेटेर ग्रेटर लुम्बिनीको अवधारणा ल्याइएको हो । यसको क्षेत्रफल पाँच हजार दुई सय ६० बर्गकिलोमिटरको रहेको विकास कोषले जनाएको छ । यो भूभाग शाक्यमुनी बुद्धको जीवन र जन्मभुमीसंग सम्बन्धित पुरात्तात्विक र धार्मिक मूल्यमा आधारित रहेको छ । पुरातात्वीक र आध्यात्मीक महत्वपलाई हेर्ने हो भने ती तिन क्षेत्र मध्ये तिलौराकोट र रामगं्राम आफैमा युनेस्कोको विश्व सम्पदा सूचीमा पर्न सक्ने सम्भावित क्षेत्रहरु हुन् । 

salt training

कमेन्ट गर्नुहोस्