०३ असार २०८३, बुधबार

नेपालमा भएको ५०० र हजारका पुराना भारतीय नोट अब के हुन्छ ?

बैशाख २७, २०७५
नेपालमा भएको ५०० र हजारका पुराना भारतीय नोट अब के हुन्छ ?

काठमाडौं, २७ वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आइरहेका छन् । नेपाली नेताहरूसँग मोदीको कुराकानीको एक विषय सन् २०१६ को नोभेम्बरमा लगाइएको नोटबन्दीको असर पनि हुनेछ । 

अहिले नेपाल राष्ट्र बैंकमा लगभग आठ करोड भारु पुराना नोटहरू छन् । 

त्यतिखेरको नोटबन्दीका कारण नेपालमा पनि मानिसहरू समस्यामा परेका छन् । 

भारतका मानिसलाई ५०० र हजारको पुरानो नोट साट्ने मौका त प्राप्त भयो तर नेपालमा भारतीय मुद्रा राख्ने मानिस अझै पनि यो अवसर कुरिरहेका छन् । 

नोटबन्दीभन्दा अघि नेपालमा ५०० र हजारका भारतीय नोटको संख्या राम्रो थियो । 

नोटबन्दीभन्दा अघि मानिसले २५ हजार भारु नेपाल ल्याउन पाउँथे । यसबाहेक नेपालको कुल व्यापारको ७० प्रतिशत भारतसँग छ त्यसैले पनि नेपालीहरू भारतीय नोट राख्छन् । 

नेपाल राष्ट्र बैंकका एक अधिकारीका अनुसार, नोटबन्दीपछि नेपालीहरूमा भारतीय मुद्राप्रतिको विश्वास कम भएको छ । 

बैंकसँग त आठ करोड भारु छ र आम मानिससँग कति नोट छन् भन्ने तथ्यांक उपलब्ध छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रिलमा भारत भ्रमण गर्दा भारतीय अधिकारीहरूसँग यो मुद्दा सुल्झाउनका लागि कुरा गर्ने भने पनि भारतीय विदेशसचिव विजय गोखलेले कुनै पनि बैठकमा यो मुद्दा नउठाइएको बताए । 

यस विषयमा नेपालमा प्रधानमन्त्री ओलीको आलोचना भएको थियो । 

यसमा सफाइ दिँदै प्रधानमन्त्री ओलीनिकट एक अधिकारीले भारतीय अधिकारीहरूसँग यस मुद्दामा अनौपचारिक कुराकानी भएको र नेपाललाई सहज हुने काम गर्ने भरोसा दिलाइएको बताए तर के कारवाही हुन्छ भनी विस्तारमा
बताएनन् । 

बीबीसीसँगको कुराकानीमा नेपालका लागि भारतका राजदूत मञ्जीव सिंह पुरीले दुवै देशबीच औपचारिक कुराकानी जारी रहेको बताए । 

उनले भने, ‘नेपालमा मानिसहरूलाई भारतमा जस्तै समयसीमा उपलब्ध थियो । नेपालीहरूले उक्त समयसीमाको प्रयोग गर्न सक्थे । हामी र नेपालबीच औपचारिक कुराकानी चलिरहेको छ । यसबारेमा सरकारहरूलाई थाहा छ ।’

मानिसहरूले पुरानो नोटबाट छुटकारा पाउनका लागि घाटामा नोट बेचे, भारतीय नातेदारहरूसँग सहायता लिए र अन्य उपाय पनि अपनाए । 

भारतसँगको सीमाक्षेत्रमा बस्ने मानिसका लागि नोट साट्न सजिलो भएपनि टाढा पहाडी इलाकामा रहेका मानिसलाई यसो गर्नु सहज थिएन र उनीहरूलाई सरकारहरूमाथि विश्वास गर्नुबाहेक अन्य उपाय थिएन । 

दिल्लीमा पूर्वराजदूत दीप कुमार उपाध्यायलाई सहायताका लागि फोन आउँथ्यो । उनी नोट साट्नका लागि समयको घोषणा गरिनेछ भनी मानिसलाई विश्वास दिलाउँथे तर अहिलेसम्म यस्तो भएन । 

उनी भन्थे, ‘मानिसहरू मलाई भन्ने गर्थे, हेर्नुस् हामीले परिवारबाट गोप्य राखेर पैसा जम्मा गरेका थियौं । एकजनाले ६० हजार जम्मा गरेको बताएका थिए, अब त्यो पैसाको के हुन्छ ?’

काठमाडौंमा दरबार स्क्वेयरनजिक एक व्यक्तिले सोधे, ‘तपाईं टाढा पहाडहरूमा बस्ने रिटायर्ड गोर्खा सैनिकका परिवारलाई सोध्नुस् न । त्यो परिवार पेन्सनमा निर्भर छ । उनीहरूले आफूसँग भएको ५०० र हजारको नोट बेकामे
भयो भन्दा कस्तो ठाने होलान् ? भारतले यस्तो काम किन गरेको होला ?’

खराब समयका लागि भनेर पतिबाट लुकाएर पैसा राखेका महिलाहरू नोटबन्दीका कारण समस्यामा थिए । पहाडी क्षेत्रमा बस्ने ती परिवार पनि स्तब्ध भए जसको प्रियजन भारतमा मजदूरी गरेर भारतीय मुद्रा घर ल्याउँथे । 

नोटबन्दीभन्दा अघि मानिसले २५ हजार मूल्यसम्मको ५०० र हजारको नोट नेपाल ल्याउन सक्थे र नेपाली नोटमा परिवर्तन गर्न सक्थे । 

तर नोटबन्दीको घोषणा भएपछि नेपाल राष्ट्र बैंकका अधिकारीहरू समेत स्तब्ध भए र उनीहरूले तत्कालै ५०० र हजारका नोट साट्नमा रोक लगाए र भारतको रिजर्भ बैंक अफ इन्डियासँग कुराकानी शुरु गरे । 

नेपालले अहिले १०० रुपैयाँभन्दा बढीको भारतीय मुद्रा राख्न अनि त्यसलाई साट्न प्रतिबन्ध लगाएको छ । 

राष्ट्र बैंकका भीष्मराज ढुंगाना भन्छन्, ‘हामी मानिसहरूलाई ड्राफ्ट, क्रेडिट र डेबिट कार्ड प्रयोग गर्न भनिरहेका छौं । मानिसहरू अझै पनि एक लिन भारत सरकारले उनीहरूलाई साट्न दिन्छ भनी आश गरेर बसेका छन् ।’
 

बीबीसी हिन्दीमा प्रकाशित विनिता खरेको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्