
सुर्खेत, २७ बैशाख–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव वीरबहादुर कुँवर ‘सुरेश पहाडी’ लाई जिल्ला अदालत सुर्खेतले अदालतमा हाजिर हुन ३० दिने म्याद जारी गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा–९ लाटिकोईलीस्थित काँग्रेस नेताको घरमा जुवा खेलिरहेका सचिव कुँवरलाई फरार गराइएको प्रहरीलाई आरोप लागेको थियो । जुवा खालबाट काँग्रेस नेतासहित तीन जना गत वैशाख २३ गते पक्राउ परेका थिए ।
प्रहरीले छापा मार्दा काँग्रेस नेता तथा घरधनी ५९ वर्षीय कालिप्रसाद शाक्य, ५५ वर्षीय दानबहादुर गुरुङलाई जुवा खालबाट पक्राउ गरेको थियो । जुवा खालबाट प्रहरीले ३४ हजार पाँच सय नगद पनि नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका तीनै जना अदालतमा धरौटी बुझाएर मंगलबार रिहा भएका अदालतका रजिष्टार वीरेन्द्रबहादुर मल्लले लोकान्तरलाई बताए । उनका अनुसार १५÷१५ दिनमा दुइपटक फरार रहेका कुवरलाई कर्मचारीले बुझाउने र यदि उनी अदालतमा हाजिर नभएको खण्डमा फरारी लगतमा उनको नाम राखिनेछ । कानूनमा जुवा खेलाउनेलाई ३०० र जुवा खेल्नेलाई २०० जरिवाना गर्ने व्यवस्था रहेको रजिष्टार मल्लले जानकारी दिए ।
जुवा खालबाट प्रमुख स्वकीय सचिव कुँवर भागेपनि उनको मोबाइल प्रहरीले बरामद गरेको थियो ।