
जनकपुरधाम, २८ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुईदिने नेपाल भ्रमणका लागि शुक्रबार जनकपुर आइपुगेका छन् । प्रधानमन्त्री मोदी भारतीय वायु सेवाको क्षेत्रीय विमानमार्फत् भर्खरै जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् । ४ वर्षअघि प्रधानमन्त्रीमा निर्वाचित भएयता मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।
जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रूपमा स्वागत गर्दैछन् ।
भ्रमण कार्यतालिकाअनुसार प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट सिधै जानकी मन्दिर जाने र मन्दिरमा विशेष पूजाअर्चना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मोदीसँगै जानकी मन्दिरमा पूजाका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि जनकपुर आइसकेका छन् । दुवै प्रधानमन्त्रीले जानकी मन्दिरबाटै संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गर्ने कार्यक्रम पनि छ ।
त्यसपछि प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् ।
जनकपुरमा नागरिक अभिनन्दनपछि प्रधानमन्त्री मोदी दिउँसो काठमाडौंतर्फ प्रस्थान गर्नेछन् ।
आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा भारतीय समकक्षी मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम छ ।
त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री मोदीले कान्तिपथस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नेछन् । आजै प्रधानमन्त्री मोदी शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच आजै द्विपक्षीय सम्बन्ध र आपसी हितका सम्बन्धमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रो जनविद्युत् परियोजनाको उद्घाटनसमेत गरिनेछ ।
भोलि वैशाख २९ गते बिहानै प्रधानमन्त्री मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ प्रस्थान गर्नेछन् । मुक्तिनाथमा पूजापछि उनी बिहान करीब १०:३० बजे मुक्तिनाथबाट काठमाडौं फिर्ता हुनेछन् ।
प्रधानमन्त्री मोदीलाई शनिवार दिउँसो २:४५ बजे काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी उनी भोलि नै स्वदेश फिर्ता हुनेछन् ।