काठमाडौं,२८ बैशाख– ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मेलम्ची खानेपानी आयोजनाका कारण महानगरमा धूलो नियन्त्रण गर्न नसकिएको बताएका छन् ।
शुक्रबार ललितपुर महानगरको कार्यलय पुलचोकमा आयोजित वायु प्रदुषण सम्बन्धी छलफल कार्यक्रममा मेयर महर्जनले मेलम्ची आयोजनाका कारण आफूले सोचे अनुरुप प्रदुषण नियन्त्रण गर्न नसकिएको बताए ।
‘स्थानीय तहको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा हुन लागेको छ, मैले चुनावमा भोट माग्दा ललितपुरका स्थानीयलाई धूलो नियन्त्रण गर्ने बाचा गरेको थिए,’ मेयर महर्जनले भने,‘मेलम्ची खानेपनी आयोजनाको कारण धुलोधुँवा नियन्त्रण गर्न सकिएन ।’
वायु प्रदुषणको कारण मानिसहरुमा प्रत्यक्ष असर पारेको भन्दै उनले महानगरलाई सफा र सुन्दर बनाउन स्थानीयहरुसँग सुझाव समेत मागेका थिए ।
स्थानीयले काठमाडौं उपत्यकामा सावरी साधनले प्लास्टिकको झोलाले प्रदुषण बढाएको त्यसलाई नियन्त्रण गर्न माग गरेका थिए । वायु प्रदुषण रोक्न महानगरले एक घर एक रुखको निति ल्याउन समेत बताएका छन् ।