
धनगढी, ३० वैशाख– कैलालीको लम्की चुहा नगरपालिकास्थित सामुदायिक रेडियो पश्चिम आवाजमा आज (आइतवार) अन्तरवार्ता दिइरहेको अवस्थामा नेत्रबिक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाका नेता दिलवहादुर साउँद गिरफ्तार भएका छन् ।
ईलाका प्रहरी कार्यालय सुखडको टोलीले दिउँसो साढे ३ वजे स्टुडियो भित्रै पसेर नेता साउदलाई प्रक्राउ गरेको हो ।
घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश नं. ७, कैलाली शाखा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीले घोर भर्त्सना गरेको छ ।
महासंघका प्रदेश समितिका महासचिव योगेश रावलद्वारा जारी विज्ञप्तीमा मिडिया हाउसभित्रै प्रहरी टोली छापामार शैलीमा प्रवेश गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको घोर भर्त्सना गरिएको छ । अब उपरान्त यस्ता घटना नदोहोरिन दिन सम्बन्धित सबैमा आग्रह समेत गरिएको छ ।
त्यस्तै फोनिज कैलाली अध्यक्ष लखन चौधरी र सचिव राम दहितद्वारा जारी विज्ञप्तीमा मिडिया हाउसभित्रै प्रहरीले प्रवेश गरी पक्राउ गर्नुलाई सिंगो प्रेस जगतमाथि नै प्रहार भएको ठहर गरिएको छ ।