
काठमाडौं, २ जेठ– पार्टी एकता गर्ने समझदारी भएको ९ महिना पुग्नैलाग्दा अन्ततः नेकपा एमाले र माओवादी केन्द्र घोषणाको अन्तिम बिन्दूमा आइपुगेका छन् । दुई पार्टीबीच पदीय भागबण्डा, चुनाव चिन्ह लगायतका विवादित विषयमा समेत सहमति जुटेसँगै बिहिबार एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।
नेताहरुका अनुसार महाधिवेशनसम्म केपी ओली र प्रचण्ड दुबै जना एकीकृत पार्टीको अध्यक्ष हुनेछन् ।
सहमतिअनुसार एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय बनाइने भएको छ । जसमा एमालेबाट २४१ जना र माओवादीबाट २०० जनाको प्रतिनिधित्व हुनेछ ।
एमाले स्रोतका अनुसार स्थायी कमिटी ४३ सदस्सीय बनाउने समझदारी भएकोमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने छन् ।
दुई पार्टीले हीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गराउने तयारी थालेका छन् । दुई पार्टीबीच सूर्य चिन्ह नै चुनाव चिन्ह राख्ने सहमति भएको छ । सूर्य एमालेको हालको चुनाव चिन्ह हो ।