काठमाडौं, ३ जेठ – आठ महिनाको रस्साकस्सीपछि अन्ततः नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकताको निर्णायक बिन्दूसँग आइपुगेका छन् । गत वर्षको असोज १७ गते चुनावी गठबन्धनको घोषणा गरेका गरेका दुई पार्टीबीच निकट भविष्यमै पार्टी एकता गर्ने समेत सहमति भएको थियो ।
सोहि सहमतिअनुसार विभिन्न चरणमा भएका छलफलले सार्थकता पाउँदै एकताको अन्तिम बिन्दुसम्म आइपुगेको हो । बीचमा एकताबारे विभिन्न अन्योलता समेत उत्पन्न भए । तर, ती अन्योलताका बीच गत फागुन ७ गते मध्यरात दुई पार्टीबीच ७ बुँदे सहमति हुँदै एकताको आधार तयार भएको थियो । जुन आधारलाई टेकेर एकताका थप प्रक्रिया अघि बढेका थिए |
के छ आधारपत्रमा ?
एकताको ७ बुँदे प्रारम्भिक उक्त आधारपत्रमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने उल्लेख गरिएको छ । यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेलिनवाद रहने उल्लेख गरिएको छ ।
यसैगरी एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा केन्द्रले पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता समान रहेको आधारपत्रमा उल्लेख गरिएको छ ।
सहमतिमा एमालेको जबज र माओवादी केन्द्रको माओवाद र एक्काइसौँ शताब्दीको जनवाद सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने तथा उक्ता आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ । सोहि आधारपत्रमा टेकेर आज एकता गर्न लागिएको हो ।
सोहि क्रममा संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन भएका थिए ।
संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका थिए भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका थिए । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाएर दुई अध्यक्षलाई बुझाएको थियो ।
यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ थिए भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल थिए ।
उक्त कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको तय गरी आवश्यकसुझावसहितको प्रतिवेदन नेतृत्वलाई बुझाएको थियो ।