
काठमाडौं, ५ जेठ– नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीलाई साताभरमा पूर्णता दिने गरी गृहकार्य शुरु भएको छ । त्यसैगरी तीन महिनाभित्र पार्टीका जनवर्गीय सङ्गठन र पार्टीको आन्तरिक सबै कामको व्यवस्थापन गरिसक्ने तयारी गरिएको नेकपाले जनाएको छ ।
नयाँ पार्टीको नौं सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमतिअनुसार त्यसको गृहकार्य शुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सचिवालयको बैठकले बढीमा तीन महिनाभित्र पार्टीको आन्तरिक सबै व्यवस्थापन गरिसक्ने निर्णय गरेको छ ।
केन्द्रीय कमिटीमा २४१ जना तत्कालीन एमालेबाट र २०० जना तत्कालीन माओवादी केन्द्रबाट सदस्य रहने सहमति बनेको छ । सोहीअनुसार यसअघि एमालेको १९६ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरू स्वतः नयाँ पार्टीको केन्द्रीय सदस्यमा परेका छन् । तीमध्ये अपुग ४५ जनाको नाम भने टुङ्गो लाग्न सकेको छैन ।
बाँकी केन्द्रीय सदस्यको नाम साताभित्र टुङ्गो लगाउने छ । त्यस्तै माओवादी केन्द्रबाट २०० जनामा ८५ जनाको मात्र टुङ्गो लागेको र बाँकी ११५ जना छनोट गर्न बाँकी रहेको बताइएको छ ।
केन्द्रले पनि एक साताभित्र नाम टुङ्गो लगाउने बताएको छ । निर्वाचन आयोगमा केन्द्रीय कमिटीका सदस्यहरूको सबै नाम बुझाउनुपर्ने भएकाले चाँडै नाममा टुङ्गो लगाएर आयोगमा बुझाइने नेकपाले जनाएको छ ।