
धनगढी, ५ जेठ– उमेरले ४१ पुगिन् प्रदेश नं. ७ की सांसद चुनकुमारी चौधरी । तर उनलाई छिप्पिदो उमेरको पटक्कै मतलब छैन । उनीमा छ त, केवल उही यूवा जोश, जाँगर, उमंग र लगनशिलता ।
छोरो दीपक चौधरीको ढोरपाटन राष्ट्रिय निकुञ्जमा रेञ्जरको जागिर । श्रीमान लालबहादुर चौधरीको कृषि पेशामा लोभलाग्दो कमाई र आफ्नो ‘सांसद’ जस्तो सार्वजनिक पदसहितको मान–सम्मानको जीवनशैली । सायद मान्छेलाई खान पुग्ने कमाई र मानसम्मान भए पुग्छ होला ।
तर उनको सामाजिक मानप्रतिष्ठा र खान पुग्ने कमाईले शिक्षा आर्जनको भोकलाई भने पटक्कै मेट्न सकेको छैन । ‘औपचारिक शिक्षा’ प्राप्तिको भोकले उनलाई सधै दौडारहेको छ । फलतः आफ्नो राजनीतिक जीवन तथा सांसदीय यात्रा संग–संगै स्कूले यात्रा पनि शुरु गरेकी छिन्, चुनकुमारीले ।
कैलालीको गोदावरी नगरपालिका–६ बडेहाकी उनी स्थानीय भागेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । गत वर्ष कक्षा ८ मा भर्ना भई बोर्ड परीक्षा उत्तीर्ण गरेकी उनी हाल कक्षा ९ को नियमित कक्षासमेत लिरहेकी छिन् ।

कमैयादेखि सांसदसम्म
जन्मजात कमैया बनेका बुवा तेजराम चौधरी र आमा बेलमति चौधरीको कोखबाट जन्मेकी सांसद चुनकुमारीको बाध्यकाल जमिनदारकै घरमै बित्यो । शिक्षा आर्जन गर्नेबेला जता बुवा आमा पुग्थे, उतै जानुपर्ने उनको बाल्यकालको विवशता थियो । यतिमा सीमित भएन उनको करुणिक जीवन । उमेर १५ पुगेपछि विवाह बन्धनमा बाँधिनु प¥र्यो र सुरु भयो, घरगृहस्थी जीवनको सुरुवात ।
लामो सास तान्दै उनी भन्छिन्–‘यहाँसम्म पुग्न जीवनमा धेरै संघर्ष गरेको छु, गर्दै आएकी छु । सायद मेरो जीवनमा ग्रहण गर्न नसकेको कुनै चीज बाँकी छ भने, त्यो हो, औपचारिक शिक्षा । विद्यमान सामाजिक संरचना र गरिबीको कारण शिक्षा आर्जनबाट बञ्चित थिए । शिक्षाबिना मानव जीवन कति कहाली लाग्दो हुँदो रहेछ भन्ने कुरा म आफै भोगेको छु । जीवन जिएर पनि पटक–पटक मरेको छु ।’
उसो त उनी स्कूले यात्रा भन्दा पहिलै कयौं साक्षरता कक्षा नलिएकी भने होइनन् । यहाँसम्मकी उनी आधारभूत कम्प्युटर शिक्षा, ड्राभिङ समेतको तालिम लिइसकेकी छिन् । तर जीवनको उच्चतम लक्ष्य प्राप्तिको लागि शैक्षिक योग्यता अनिवार्य रहेको उनी सुनाउँछिन् । आज त्यहि लक्ष्य प्राप्तिको लागि शिक्षा आर्जन गर्नै पर्ने चाहना र बाध्यताकै कारण स्कूले यात्रा सुरु गरेको उनको भनाइ छ ।
त्यस्तै, उनले एउटा घटना प्रसंगवारे स्कूल जानैपर्ने बाध्यता सिर्जना भएको समेत बताउँछिन् । घटनावारे उल्लेख गर्दै भनिन्–‘एउटा कार्यक्रम चलिरहेको बेला एक जनाले शैक्षिक योग्यताको कुरा गरिरहेका थिए । मलाई लाग्थ्यो, उसले मलाई नै लक्षित गरेर भनिरहेको थियो । र कुनैबेला मेरो व्यक्तिगत विवरण (बायोडाटा) माग्दा म आफैलाई निरीह महसुस गरेको छु र स्कूलको यात्रा थालेको हुँ ।’

सुरुवाती एक हप्ता पिसाब च्यापेरै बसें
तत्कालीन नेकपा एमालेको कोटाबाट प्रदेश सांसद बनेकी चुनकुमारी पहिल्यैदेखि सामाजिक गतिविधिमा उत्तिकै क्रियाशिल छिन् । स्थानीय बडेहा चैटनीपुर महिला सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ता हुँदै सचिव, अध्यक्षको जिम्मेवारी सम्मालेकी उनी पछि रेञ्जपोष्ट अत्तरिया अन्तरगत फोकोफनको उपाध्यक्ष हुँदै २०६३ सालमा पार्टीको क्रियाशिल सदस्यता र खानेपानी उपभोक्ता महासंघको केन्द्रीय सदस्य समेत भइन् ।
यसरी दर्जनौ संघ–संस्थाको जिम्मेवारी सम्मालेकी चुनकुमारीले स्कूले यात्रा सुरु गर्छिन् भन्नेवारे सायदैले कल्पना गरेका थिए । यहाँसम्मकी उनको परिवारका सदस्यले समेत धेरैपछि मात्रै जानकारी पाए ।
उनी भन्छिन्–‘थुप्रै संघ–संस्थाको महत्वपूर्ण ओहोदामा बसिसकेकोले एकै चोटी स्कूले यात्रा थाल्नु मेरो लागि चुनौतीपूर्ण नै थियो । बेलाबखत घरमा पढाईको कुरा गर्दा छोरा र श्रीमानले नपढेपनि हुने भनेर सुझाउँथे । २०७३ तिरको कुरा हो, घरमा राम्रो संग सल्लाह पनि गरेको थिएन । तर पढाईप्रतिको दृढ इच्छा शक्ति र हुटहुटीले स्कूल पुर्यायो ।’
एक्कासी स्कूल पुग्दा स्कूलका शिक्षक, विद्यार्थी सबै छक्क परेको उनी बताउँछिन् । स्कूल गएको पहिलो दिनको अनुभव सुनाउँदै उनले भनिन्–‘विद्यालयको कसैलाई पूर्व जानकारी थिएन । स्कूलमा गए भर्ना भए । मेरो कक्षा देखाई दिए । पढ्न सुरु गरी हाले ।’
त्यस्तै, उनले स्कूलको सुरुवाती दिनहरुमा पिसाबै च्यापेर बसेको यथार्थ समेत सुनाइन् । ‘सुरु–सुरुमा मलाई साह्रै गाह्रो भयो । विद्यालय त जान्थे, तर कक्षा भन्दा बाहिर निस्कन गाह्रो हुन्थ्यो । स्कूलको हाफ टाइममा विद्यार्थीहरु खेल्थे, घुम्थे, खाजा खान्थे, म भने कक्षामै बसिरहन्थे । पढाई भएका विषयको फेयर गर्थे’, उनले भनिन्–‘यहाँसम्मकी घरमै शौच गरी स्कूल गएको मान्छे, घरमै फर्केर शौच गर्थे । हप्तौं दिनसम्म स्कूलको शौचालय गइन । पछि पिसाब तथा पथ्थरी सम्बन्धी देखियो र शौचालय प्रयोग गर्नथाले छु ।’

सबैले मलाई दोस्त भन्छन्
उनी आफू सदैव विद्यालयमा विद्यार्थीकै दायरामा बसेको बताउँछिन् ।
विद्यालयका शिक्षकहरु आफुलाई नेताको रुपमा हेरेपनि आफु भने विद्यार्थीको रुपमा बसेको बताइन् । उनले अगाडि थपिन्–‘विद्यालयमा सबै विद्यार्थीले मलाई दोस्त भन्छन् । म पनि दोस्त भनेर बोलाउँछु । उनीहरु संगै बसेर पढ्छु, सहयोग माग्छु ।’
कक्षा ८ को बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याएर उत्तीर्ण भएकी उनीको क्याम्पस पढ्ने दृढ इच्छा पालेकी छिन् । कक्षा ९ मा ऐक्षिक विषयमा अर्थशास्त्र र लेखा रोजेकी उनी पछि गएर राजनीतिशास्त्रमा डिग्री हासिल गर्ने लक्ष्य बनाएकी छिन् ।