२४ जेठ २०८३, आइतबार

ग्रामथानलाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउन यस्ता योजना

ग्रामथानलाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउन यस्ता योजना

विराटनगर, ६ जेठ– ग्रामथान गाउँपालिकालाई नेपालकै पहिलो बालमैत्री गाउँ बनाउने अभियान शुरु भएको छ । २०७६ साल भित्र नेपालकै पहिलो बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गर्न गाउँपालिकाले रणनीतिक कार्ययोजना र कार्यविधिहरू तयार गरी प्रतिबद्धता समेत जनाएको छ । 

३ दिने रणनीतिक योजना निर्माण कार्यशालामा बालविवाह तथा दाइजो प्रथा अन्त्य गर्ने कार्यविधि २०७५, बालमैत्री स्थानीय शासन तथा बालअधिकार संरक्षण कार्यविधि २०७५, बालमैत्री घोषणाको लागि  रणनीतिक योजना, हिंसारहित विद्यालय व्यवस्थापन निर्देशिका २०७५ लाई अन्तिमरुप दिएको कार्यपालिकाका प्रशासकिय अधिकृत प्रमोद चौधरीले जानकारी दिए । 

साथै उक्त कार्यविधिहरुलाई कार्यपालिकामा पेश गरी लागू गरिने र तुरुन्त कार्यान्वयनमा ल्याउने उनको भनाइ छ । ग्रामथान गाउँपालिकाका निर्वाचित जनप्रतिधि, कार्यपालिकाका पदाधिकारी, विषयगत निकाय, गाउँपालिकाका कर्मचारी, बाल क्लबलगायतको सहभागितामा दफावार छलफल गरी बालमैत्री बनाउन उक्त कार्यविधि तथा निर्देशिकालाई अन्तिमरुप दिइएको हो । 

कार्यशालालाई फरेनका अध्यक्ष यज्ञ शर्मा, वल्र्ड भिजनका संरक्षण संयोजक प्रमिल अधिकारी, केन्द्रिय बालकल्याणका बालअधिकार स्रोत व्यक्ति सुमन अधिकारी र शिक्षा अधिकृत यादव दुलालले सहजीकरण गरेका थिए । प्रदेशसभाका सांसद विजय विश्वासले बालमैत्रीलाई व्यवहारमा रुपन्तरण गरी नेपालकै पहिलो बालमैत्री पालिका बनाउन आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । 

गाउँपालिकाका अध्यक्ष शिव नारायण माझी, उपाध्यक्ष फूलकुमारी चौधरीलगायत सबै वडाका वडाअध्यक्षले २ वर्षभित्र बालमैत्री बनाउन सबै सूचकहरु पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । बालविवाह मुक्त वडा, सतप्रतिशत जन्मदर्ता, खुला दिशामुक्त, पूर्ण खोप, सतप्रतिशत विद्यालय भर्ना, बालश्रम न्यूनिकरण, बाल क्लब गठन र प्रवद्र्धनलाई प्राथामिकताका साथ अगाडी बढाउने बक्ताहरूले प्रतिवद्धता गरेका छन् ।  

कार्यशालालाई प्लान इन्टरनेश्नल नेपाल र नारी विकासले आर्थिक सहयोग गर्नुका साथै वल्र्ड भिजन इन्टरनेश्नल र फरेनले प्राविधिक सहयोग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्