
काठमाडौं, ६ जेठ– राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक आइतबार बस्दै छ । बैठकमा संसदीय दलको नेता, उपनेता र कार्यसमिति गठनका बारेमा छलफल हुने एक नेताले जानकारी दिए ।
यस्तै पार्टीको राजनीतिक समितिको बैठकको मिति तोक्ने, प्रदेश नम्बर २ मा तीनजना राज्यमन्त्री चयन गर्नेलगायतका बिषयमा पनि छलफल हुने बताइएको छ । संघीय संसदका सदस्यहरूको निर्वाचन भएको तीन महिना वितिसक्दा समेत राजपाले संसदीय दलको कार्यसमिति गठन गर्न सकेको छैन ।
यसअघि गत शुक्रबार बसेको बैठकले यस विषयमा निर्णय गर्ने भनिए पनि अध्यक्ष मण्डलका सबै सदस्य उपस्थित नभएकाले आज छलफल हुन लागेको हो । दिउँसो २ बजे केन्द्रीय कार्यलय बबरमहलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिती र पार्टीको अन्य आन्तरिक बिषयमा पनि छलफल हुने छ ।