
काठमाडौं, ६ जेठ– आईपीएल क्रिकेटमा नेपाली बलर सन्दिप लामिछानेले तीन विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै मुम्बई इण्डियन्सलाई दिल्ली डेयर डेभिल्सले ११ रनले पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
१७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नुअघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।
खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिएका थिए ।
आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए ।
सन्दिपले खेलको दशौँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै ६ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । दशौँ ओभरको पहिलो बलमा उनले केरन पोलार्डलाई सात रनमा आउट गरे । त्यही ओभरको चौथो बलमा उनले कुर्नाल पाण्डेलाई व्यक्तिगत चार रनको स्कोरमा आउट गरे ।
सन्दिपको तेस्रो ओभर महंगो सावित भयो । उनले खेलको बाहौँ ओभरमा बिना कुनै विकेट १३ रन खर्चे । सोह्रौँ ओभरमा सन्दिपले निकै किफायती बलिङ गरे । आफ्नो चौथो ओभरमा उनले मात्र चार रन खर्चे ।
आईपीएलमा सन्दीपको यो तेस्रो खेल थियो । तीन खेलबाट सन्दीपले ५ विकेट लिएका छन् ।