
काठमाडौं, ७ जेठ–सरकारले सोमबार संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । मन्त्रिपरिषद्को आइतवारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
त्यसैगरी, मदन भण्डारी राजमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव पनि मन्त्रिपरिषद्ले पारित गरेको छ । झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौँडा–गैँडाकोट–रामपुर– तम्घास–सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर–सीमचौर, बिपीनगर, सहजपुर,जोगबुढा र रुपालसम्म पुग्नेगरी १,२०० किलोमिटरको चुरे तथा भित्रीमधेश जोड्ने गरी सो राजमार्ग निर्माणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।
बैठकले मुख्यमन्त्री तथा प्रदेश मन्त्रालयका कर्मचारीसम्बन्धी परिमार्जित संगठन संरचना प्रस्ताव पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । जनरल कन्भेन्सन अफ मधेशी एसोशिएसन अफ अमेरिका भन्ने गैरसरकारी संस्थाको निम्तामा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणमा पठाउने भनी सो प्रदेशको मन्त्रिपरिषद्बाट आएको प्रस्तावमा प्रदेशको आर्थिक वर्षको बजेट निर्माण तथा कार्यक्रमलगायतका संगठनात्मक पूर्ण कामहरु गर्नुपर्ने समय परेकाले सो प्रस्तावमा जान अनुपयुक्त देखिएको ठहर मन्त्रिपरिषद्ले गरेको सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
मन्त्रिपरिषद्ले तेत्तीस किलो सुन तस्करी छानबिनसम्बन्धी समितिको म्याद यही जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, राष्ट्रिय बीमा संस्थानका प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ ।
आजदेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा चल्ने
यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको छ ।
यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताए पनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम अर्थात् २१ घण्टामात्रै सञ्चालन गर्न लागिएको हो । विमानस्थलमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडानलाई थप प्रभावकारी बनाउन सञ्चालनमा नयाँ पन दिन लागिएको हो ।
हवाई ट्राफिक व्यवस्थापन तथा उडान र अवतरणमा देखिएका समस्या समाधानका लागि पनि सञ्चालन अवधि बढाइएको हो । हाल विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ ।
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट
प्रधानन्यायाधीश नियुक्तका लागि संवैधानिक परिषद्तत्काल सिफारिश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । संवैधानिक परिषद्, संघीय संसद्को सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलका नेता तथा प्रतिनिधिसभालगायतलाई विपक्षी बनाई अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका हुन् ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर हदका कारण असंवैधानिक ठहर भएर वैशाख १ गते राजीनामा दिएपछि कामु प्रधानन्यायाधीशका रुपमा दीपकराज जोशीले काम गरिरहेका छन् ।
कर्णाली सरकारको निर्णय
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रादेशिक कानून आयोग गठन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानूनको मस्यौदा तयारीमा सहयोग पु¥याउनका लागि यथाशीघ्र प्रादेशिक कानून आयोग गठन गर्ने निर्णय गरिएको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए ।
त्यसैगरी लागुऔषध नियन्त्रणसम्बन्धी विधेयक र कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।
काँग्रेस जिल्ला सभापतिको भेला असार ५ देखि
नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेला आगामी असार ५, ६ र ७ गते हुने भएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम जिल्ला सभापतिको राष्ट्रिय भेला असार ५, ६ र ७ गते मकवानपुरको हेटौँडामा हुन लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रदेश ७ को प्रदेशसभा बैठक
प्रदेश नं ७ को प्रदेशसभाको बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७५÷०७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त, प्राथमिकता (करप्रस्ताव बाहेक) सम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको छ ।
आइतवारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आव २०७५÷०७६ को बजेटको नीति, उद्देश्य, सिद्धान्त, प्राथमिकता (कर प्रस्तावबाहेक)को बजेटसम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावमाथि यही जेठ ४ र ६ गते गरी दुई दिनसम्म प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यद्वारा छलफल गरिएको थियो ।
यातायातका कर्मचारी नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खरिदार कमल स्याङतान तथा सहयोगीद्वय हपरबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरिएको हो ।
सवारी चालकको अनुमतिपत्र दिने प्रयोजनमा उनीहरुले पैसा लिएर परीक्षामा सहभागी नै नगराई उर्तीण गराउने गरेका थिए ।
यस्तै स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याएर काममा जाने नेपालीसँग करोडौँ रुपैयाँ असुल गर्ने वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठलगायत ४२ जना रहेका छन् ।
आइपिएलमा सन्दिपको उत्कृष्ट बलिङ
सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्सविरुद्धको आइतवारको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए ।
आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए ।
सन्दिपले खेलको दशौँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै ६ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । दशौँ ओभरको पहिलो बलमा उनले केरन पोलार्डलाई सात रनमा आउट गरे ।
त्यही ओभरको चौथो बलमा उनले कुर्नाल पाण्डेलाई व्यक्तिगत चार रनको स्कोरमा आउट गरे । सन्दिपको तेस्रो ओभर महंगो सावित भयो । उनले खेलको बाहौँ ओभरमा बिना कुनै विकेट १३ रन खर्चे ।
सोह्रौँ ओभरमा सन्दिपले निकै किफायती बलिङ गरे । आफ्नो चौथो ओभरमा उनले मात्र चार रन खर्चे ।