
धनगढी, १२ जेठ-प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले वनसंग सम्बन्धित प्रचलित कानूनी जटिलताले गर्दा औद्योगिक विकास हुन नसकेको जिकिर गरेका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘वन सम्बन्धी कानून अति जटिलता छ, कि प्रक्रिया पूरा गर्नमै समय ब्यातित हुन्छ । अब उद्योग खोल्नमा कानून बाधक बन्नु भएन । वनको कानून रोक्छ भने हामी तोड्छौ ।’
प्राकृतिक स्रोत साधनको उपभोगबाटै समृद्धि तथा आर्थिक विकास हासिल गर्न सकिने सम्भावना भएपनि वनमा आधारित उद्योग स्थापनामा कानूनी जटिलता रहेको उनको भनाइ थियो ।
‘कानून अति जटिल छ कि, कानून प्रयोग गर्नै सक्दैन । फलतः यहाँ उद्योग खोल्ने मान्छे पैसाको लेनदेन सुरु गर्छ’, उनले अगाडी भने–‘हामी फर्निचर अरुबाट किन्ने अवस्थामा छौ तर फर्निचर उद्योग खोल्न सकिने परिस्थितिमा छैनौ । अब हामी नयाँ संरचनामा छौ, कस्तो कानून बनाउन चाहान्छौ, त्यसमा हामी सबैले साझा रुपमा जान चाहान्छौ ।’
त्यस्तै, मुख्यमन्त्री भट्टले नोकरी नै गर्नुपर्ने दरिद्र मानसिकताको कारणले पनि देशमा औद्योगिक विकास हुन नसकेको बताए । साथै दातृ संस्थाले पैसा र तालिम दिएसम्म काम गर्ने, नदिए काम नगर्ने मानसिकताको कारणले पनि उद्योग फष्टाउन नसकेको उनले दाबी गरे ।
जसको लागि शिक्षा प्रणालीलाई रुपान्तरण गरी वैज्ञानिक र व्यावसायिक शिक्षा प्रणाली अप्नाउनुपर्ने मुख्यमन्त्रीको जोड थियो । त्यस्तै, प्रदेश नं. ७ कि उद्योग मन्त्री माया भट्टले राजनीतिक क्रान्ति पूरा भैसकेकोले अब हुने क्रान्ति नै औद्योगिक र आर्थिक क्रान्ति रहेको बताइन् ।
जसको लागि जनमैत्री कानून बनाएर अगाडी बढ्नुपर्ने उनको जोड थियो । मेडेपको प्राविधिक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा भएको सो गरिबी निवारण तथा आर्थिक समृद्धिका लागि औद्योगिक, उद्यमशिलता विकास र लघु उद्यम विकास मोडल सम्बन्धी कार्यक्रममा प्रदेश नं. ७ स्थित स्थानीय तहका जनप्रतिनि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।