काठमाडौं, २७ मंसिर –अर्थ मन्त्रालयले विद्युत आपुर्ति कटौती (लोडसेडिङ) न्यूनिकरणका लागि थप ५ अर्ब ३८ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ ।

सोमबार मन्त्रालयमा बसेको बैठकले लोडसेडिङ घटाउन उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई उक्त रकम निकासा दिने निर्णय गरेको अर्थ मन्त्रालयका सहसचिव तथा बजेट महाशाखाका प्रमुख मधु मरासिनीले लोकान्तरलाई जानकारी दिए ।
मन्त्रालयका अनुसार उक्त बजेट लोडसेडिङ न्यूनिकरणका लागि ट्रान्सफर्मर, केबुल पोल लगायतमा खर्च गरिनेछ । यसअघि सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्यका लागि भएका प्रयास सफल बनाउन आर्थिक स्रोतको अभाव हुन नदिने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले उर्जा मन्त्रालय, गृह मन्त्रालय मातहतका सरोकारवाला सरकारी निकायलाई विद्युत चुहावट नियन्त्रणका लागि एकीकृत र समन्वयात्मक कदम चाल्नसमेत निर्देशन दिएका थिए ।
लोडसेडिङ न्यूनीकरणका लागि जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्वद्व सुरक्षा निकाय र विद्युत कार्यालयका प्रतिनिधिसहितको सम्यन्त्र गठन गरी विद्युत चुहावट नियन्त्रण गर्ने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।