
सुर्खेत, १२ जेठ– दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकामा साविकका ६ ओटा गाविस मिलाइएका छन् ।
आठबीस नगरपालिकामा विजुली, सडक, उद्योग, सिंचाईको अभाव रहेको छ । चालू आर्थिक बर्षको वैशाख मसान्तसम्म नगरपालिकाको वार्षिक आन्तरिक आय जम्मा ३ लाख मात्र संकलन भएको छ ।
उसो त नगरपालिकाको केन्द्र राकम कर्णालीलाई नयाँ शहरका आयोजनाले एक लाख जनतालाई बसाउने गरी शहरीकरण गर्ने योजना बनाएको छ । उक्त आयोजनाले अहिलेसम्म देखिने खालका काम गर्न नसकेको स्थानीयहरुको गुनासो छ ।
अभावबाट गुज्रिरहेका आठबीसले जनप्रतिनिधिहरु पाएपछि भने अवस्था केही मात्रामा भएपनि सुधार भएको छ ।
आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायको नेतृत्वमा रहेका जनप्रतिनिधिले निर्वाचित भएको ६ मनिामा बजेट बनाउने, नीतिहरु बनाउने, संरचनाहरुको निर्माण गर्नुपर्ने जस्ता अनेकौ चुनौतिको सामना गरेको छ ।
नीति नियम बनाउने काम गरेको नगरपालिकाले अब आफ्नो ध्यान विकासमा हुने जनाएको छ ।
नगरपालिकाले अहिलेसम्म शिक्षा ऐन, स्वास्थ्य ऐन, मदिरा नियन्त्रण ऐन बनाई कार्यान्वयनको चरणमा लगेको छ भने सडक गूरुयोजना, कृषि गुरुयोजना, खानेपानी गुरुयोजना तयार गरेको छ ।
नगरपालिकाले रिंगरोड बनाउन शुरु गरेको छ । उक्त सडक कर्णाली राजमार्ग अन्र्तगत रामागाडदेखि सुरु भएर सात्ताला, सिंगौडी, निमायल, आठबीस क्याम्पस तिलेपाटा, छेपाडी, आका, गैराखेत, बुगाडे, राँता, ताउनी, काफलखोला, चिउरी तोलीचाखा पातेमेला हुँदै कर्णाली राजमार्गमा जोडने नगरको लक्ष्य छ । यस आर्थिक वर्षमा उक्त सडकका लागि ३२ लाख रकम विनियोजित गरिएको छ भने सडक सम्पन्न गर्न अनुमानित लागत ५ करोड रुपैंया रहेको प्रमुख उपाध्यायले बताए । उनका अनुसार अबको तीन बर्षमा सडक तयार हुनेछ ।
आठबीस समृद्धिको आधार कृषि
नगरप्रमुख उपाध्यायले आठबीस नगरपालिकाको समृद्धिको आधारको रुपमा कृषिलाई लिइएको बताए । उनले नगरलाई तीन तहमा विभाजन गरेको र जसमध्ये उपल्लो तह, बीचको तह र तल्लो तह रहेको बताए । ती तीनै तहको माटो परीक्षण गर्ने र परीक्षण पश्चात माथिल्लो तहमा ओखर खेती, स्याउ खेती, अलैंची खेती गरिने छ भने बीचको भूभागमा अम्लिसो, बाँस, निगालोजस्ता बहुआयामीक वस्तुहरुको खेती गरिनेछ ।
नगरको वडा नं. ४ राकम कर्णाली, ३ को सिंगौडी, जाक्सी, ७ को बेरुपाटालाई तरकारी खेती पकेट क्षेत्र निर्माण गरिने उपाध्यायको भनाइ छ । वडा नं. १,२,३ र ४ को तल्लो भागलाई आँप, लिचि, कटहर, अदुवा, बेसार, उत्पादन गर्ने भूभाग बनाइने छ । कृषकहरुले सहजै बेर्ना पाउन भन्ने उदेश्यका साथ नगरपालिकामा नै नर्सरी राखिने उनले बताए । यसका अतिरिक्त कृषकहरुलाई उत्पादन हेरेर सहकारी मार्फत अनुदान रकम दिने वा १० जनाको समूह बनाएको खण्डमा प्रत्यक्ष किसानलाई अनुदान दिने योजना नगरको रहेको उनको भनाई छ । नगरपालिकालाई बाख्रा पालनको हब बनाउने योजनासमेत रहेको उनले जनाए ।
एक वर्षका चुनौति
निर्वाचित भएको एक वर्षमा सोचे अनुरुप काम गर्न नसकेको नगर प्रमुख उपाध्यायले स्वीकार गरे । उनले विगतमा गाविसका योजनाहरुलाई नै आधार मानेर पूर्वाधार क्षेत्रमा बजेट बढी विनियोजन गरेको र त्यो बजेट उपभोक्ता समितिमार्फत खर्च गरिएकोले आफू सन्तुष्ट नरहेको बताए । उपभोक्ता समितिहरु पैसामा मात्रै निहित भएको आफूले पाएको उनको अनुभव छ । उनले यो नै ठूलो चुनौति रहेको बताए ।
युवाहरु बेरोजगारी समस्या जटिल भएको र त्यसको समस्या समाधानमा आफू केन्द्रीत रहेको प्रमुख उपाध्यायले बताए ।
नगरपालिकाले नगर क्षेत्रमा मदिरा नियन्त्रणकालागि प्रयास गरिरहेको बताउँदै उनले कडाइका साथ अघि बढ्ने बताए ।
प्रमुख उपाध्यायले राकम कर्णालीमा रहेको बाख्रेकोट बजार व्यवस्थापन गर्न सुरु गरिएको जानकारी दिए । तर सुर्खेत सडक डिभिजनले अहिलेसम्म बाटोको लगत कट्टा नगरेकोले सडकको जग्गा कति हो भन्ने जानकारी नहुँदा अतिक्रमण बारे काम गर्न असहज भएको बताए । तर अब डिभिजनसँग बाटोको लगत कट्टा गर्न लगाउने र राज्यको नीति अनुसार सडक बनाउन पहल गर्ने उनले बताए ।
विद्युत्तिकरण गरिने
नगरप्रमुख उपाध्यायले नगरलाई आगामी तीन वर्षमा विद्युत्तिकरण गरिसक्ने बताए । अहिललाई रामगाडदेखि किटुसम्म सडकमा विजुलीका पोलहरु नयाँ शहर आयोजना मार्फत गाडिरहेको उनले जानकारी दिए । यस्तै नगरले कानेगाड खोला, भुतगाड खोला, खुन गाड खोला र घट्टेखोलामा बत्ति उत्पादन गर्ने नीति बनाएको उनले बताए ।
साँझ पर्यो की नेटवर्क जाने समस्या समाधानका लागि राकम कर्णालीमा मोबाइल टावर बनिसकेको र यही महिना सञ्चालनमा आउने उनले बताए । साउन भित्र तिलेपाटामा टावर राखिने भएको छ । राकमको यो महिनामा सञ्चालनमा ल्याइने ।
नगर भरि सडकै सडक
नगरपालिकाले यो वर्ष सडक वर्षको रुपमा लिएको छ । करिब करिब वडा नं. ५ र ६ को वडा कार्यालय बाहेक अन्यत्र सडक पुगिसकेको छ । यो वर्ष नगरपालिकाले झोंज सात्ताला सडक, हुलाकडाँडा सिंगौडी सडक, राकम सिंहासैन सडक, बस्तेपानी ब्रम्हाडाँडा सडक, छेपाडी भिम्लेकोट सडक, बुगाडे गैराखेत सडक, राक अम्काना सडक, खिड्कीज्यूला पिपलकोट सडक, दह पुर्छा सडक निर्माण गरिरहेको छ ।
नगरमा अब तीन एम्बुलेन्स
आठबीस नगरमा अब तीन ओटा एम्बुलेन्स हुने भएका छन् । यसअघि दुइओटा (सात्ताला र सिंगौडीमा) एम्बुलेन्स भएपनि नगरपालिकाले आफ््नै लगानीमा एक नयाँ एम्बुलेन्स खरिद गर्ने भउको छ । उक्त एम्बुलेन्स केहि दिनमा आइपुग्नेछ । यस्तै नगरले डोजर र टिप्पर पनि ल्याउन लागेको प्रमुख उपाध्यायको भनाई छ ।
हाल साविकका सबै गाविसमा स्वास्थ्य इकाई रहेपनि वडा नं. ३को सिंगौडी, ७ को बेरुपाटा वा अम्काना र ९ को छेपाडीमा स्वास्थ्य एकाई खोल्न नगरले अनुमति दिइसकेको छ ।
नगरमा रहेको एकल महिलाहरुको लागि मासिक पोषण भत्ता वितरण गर्न पाँच लाख रकम विनियोजन गरिएको गरिएको छ ।
३ जनालाई डाक्टर पढ्न छात्रवृत्ति
आठबीस नगरपालिकाले क्षमता भएर पनि आर्थिक अभाव भएका तीन जना उत्कृष्ट विद्यार्थीहरुलाई डाक्टर पढ्नको लागि स्कलारसिप (छात्रवृत्ति) प्रदान गर्ने भएको छ । नगरप्रमुख उपाध्यायले छात्रवृत्ति पाउने विद्यार्थीले डाक्टर बनिसकेपछि स्थानीय तहमै सेवा दिनुपर्ने प्रावधानसहित गरिब, दलित र महिलालाई उक्त छात्रवृत्ति प्रदान गरिने बताए । यो कार्यक्रम आगामी आर्थिक वर्षबाट सुरु गरिनेछ ।
तीन वर्षमा उज्यालो आठबीस
आठबीस नगरपालिकाले आगामी तीन वर्षमा नगरपालिकालाई उज्यालो बनाउने बताएको छ । नगर प्रमुख उपाध्यायका भनाइमा आगामी ४ वर्षमा स्वास्थ्य शिक्षा पहिलो प्राथमिकता राखिनेछ भने गर्भवती महिलाहरुलाई उपचार नपाएर मर्ने अवस्थाको अन्त्य गरिनेछ ।
यस्तै नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि आवासीय विद्यालय बसञ्चालन गर्ने भएको छ । नगर प्रमुखले अबको चार वर्षमा टेलिफोन सेवा सञ्चालन गरिने, नेट इन्टरनेटको व्यवस्था गरिने, एक घर एक धारा बनाईने, केन्द्रदेखि सबै वडा कार्यालयमा बाटो पुर्याउने र ग्रावेल गरिने, राकमको खिड्कीज्यूलादेखि रामागाड सम्म तटबन्ध निर्माणकालागि प्रदेश र केन्द्रसँग सहयोग मागिने, युवालाई सहकारी कृषिको माध्यमबाट बेरोजगार युवालाई रोजगार दिइने, र आकस्मिक कोष स्थापना गर्ने योजना रहेको बताए ।
यस्तै, नगरमा निरक्षरता उन्मुलन गर्ने र कृषिमा कृषकलाई आत्मनिर्भर बनाउने योजनालाई कार्यान्वयन गर्दै गुरुयोजना अनुरुप अघि बढने नगर प्रमुख उपाध्यायको भनाइ छ ।