
काठमाडौं, १६ जेठ -अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा पेश भएको बजेट पहिलो संघीय बजेट भएकाले यसलाई अघिल्ला वर्षहरूको बजेटसँग तुलना गर्न नमिल्ने बताएका छन् । अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ तरिकाले बजेट विनियोजन गरिएको बताए ।
बजेटले रोजगारी र विकासका कामलाई विशेष प्राथमिकता दिएको उनको भनाइ छ । 'वार्षिक ठूलो संख्यामा श्रमबजारमा आउनेहरूलाई रोजगारी दिन सके देश समृद्धिको दिशामा अगाडि बढ्नेछ,' अर्थमन्त्री खतिवडाले भने- 'प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् निर्माणमा युवालाई काम लगाइनेछ ।'
गरीबीको रेखामुनि रहेका परिवारबाट कम्तीमा एक जनालाई रोजगारी दिइने भन्दै उनले पाँच वर्षभित्र स्वदेशमै कसरी पूर्ण रोजगारीको व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा नीतिगत व्यवस्था गरेर छिट्टै सार्वजनिक गरिने बताए ।
योगदानमा आधारित स्वास्थ्य बिमा पूर्णरूपमा लागू गर्ने र जेष्ठ नागरिकको बिमा नि:शुल्क हुने उनले बताए ।

संसदीय विकास कोषलाई मिलाउन कठिन भएको भन्दै उनले सांसदहरूको दबाब झेल्नुपरेको संकेत गरे ।
बजेट कार्यान्वयनमा समस्या नरहेको भन्दै अर्थमन्त्री खतिवडाले यो सबैको साझा दायित्व भएको बताए ।