अमिलो पानी आउने, झुसिलो डकार निस्किने, छाती पोल्नेजस्ता समस्याको कारक पाचन प्रक्रियामा हुने समस्या हो । यसले असजिलो मात्रै पार्दैन, समयमा समाधान गरिएन भने गम्भीर जटिलता निम्त्याउन सक्छ । आखिर के हो यो समस्या ? डा. रजनिस झा भन्छन् :

-हिलिक्क भएर मुखमा अमिलो पानी आउनु, झुसिलो डकार आउनु तथा छाती पोल्नुलाई चिकित्सकीय भाषामा बिइआरडी भनिन्छ ।
-आन्द्रा र पेट जोड्ने भागमा सानो मासुको डल्लो हुन्छ । त्यो मासुको डल्लो बिस्तारै–बिस्तारै खुम्चिने र फुल्ने गर्छ । यसले पेटभित्र रहेको खानालाई एक–आपसमा पास गर्ने काम गर्छ । खाएको खाना पास गर्ने पेटको नली खुकुलो भयो भने ग्यास्ट्रिकको जुस मुखतिर आउँछ । ग्यास्ट्रिकको जुस खानाको नलीतिर आएको अवस्थामा मानिसको छाती पोल्ने, अमिलो पानी आउने, झुसिलो डकार आउनेजस्ता समस्या निम्तिन्छ । यस्तो वेला खाना अड्किएको महसुस हुने तथा वाकवाकी लाग्ने पनि हुन सक्छ ।
-खाएको खानालाई तल पेटमा जान दिने तर माथि आउन नदिने आमाशयमाथि रहेको मांसपेशी पूरै बन्द नहुँदा पनि अमिलो पानी, झुसिलो डकार आउने समस्या हुन्छ ।
-आन्द्राको तल्लो भागमा उत्पन्न हुने इरिटेबल बाउल सिन्ड्रोमले गर्दा पेटको तल्लो भाग दुख्ने, कब्जियत हुने, झाडापखालासमेत लाग्ने गर्छ ।
-धेरै मात्रामा चिया, कफी, रक्सी, रातो मासु, घिउ, चुरोट, खैनी सेवन गर्दा पनि स्वास्थ्यमा समस्या गर्छ र यस्ता समस्या निम्तिन्छन् । दिनमा दुई कपसम्म कफी पिउँदा यस्तो असर गर्दैन ।
-बासी र मसलेदार खाना खाने तथा समयमै खाना नखाने व्यक्तिलाई ग्यास्ट्रिकले बढी सताउने गरेको देखिन्छ । चिल्लो, गुलियो, बोसो भएको खानेकुरा पनि खानु हुँदैन ।
-मोटो व्यक्ति र गर्भवती महिला अमिलो पानी आउने समस्याको बढी सिकार हुन्छन् । लामो समयसम्म स्वास्थ्यमा समस्या निरन्तर देखियो भने चिकित्सकलाई देखाउनुपर्छ । ग्रामीण क्षेत्रका भन्दा सहरी क्षेत्रका मानिसमा समस्या धेरै देखिन्छ । -नयाँ पत्रिकाबाट