
जनकपुरधाम, २४ जेठ– काठमाडौंमा आयोजन हुन लागेको तेस्रो अल नेपाल क्युरेसियन बुदोकाई कराते प्रतियोगिता २०७५ मा सहभागी हुने २ नम्बर प्रदेशका खेलाडीलाई मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामनासहित बिदाइ गरेका छन् ।
मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित बिदाइ तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री राउतले प्रशिक्षक तथा खेलाडीलाई फूलमाला र अबिर लगाएर शुभकामना दिँदै बिदाइ गरेका हुन् । मुख्यमन्त्री राउतले खेल र खेलाडीलाई प्रोत्साहनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै आगामी दिनमा खेलकुदको विकासको लागि सरकारले हरेक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे ।
‘आगामी आर्थिक वर्षको बजेटमा खेलकुद विकास कोषको स्थापना गर्न लागिएको छ,’ उनले भने, ‘कोषबाट खेलकुदको विकासमा लगानी गरिने छ ।’ जेठ २५ र २६ गते हुन लागेको प्रतियोगितामा सहभागी हुन खेलाडी आजै काठमाडौं प्रस्थान गरेका छन् ।