
बुटवल, २४ जेठ – उर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा आज भएको भेटवार्तामा ५ नम्बर प्रदेशभित्र रहेका सिँचाइ तथा उर्जा क्षेत्रका आयोजनाबारे छलफल भएको हो ।
उर्जामन्त्रीसँगको भेटमा मुख्यमन्त्री पौडेलसहित प्रदेश सरकारका सबै मन्त्रीको सहभागिता थियो । भेटमा उर्जामन्त्री पुनले ५ नम्बर प्रदेशलाई देशकै नमूना प्रदेश बनाउने गरी काम गर्न आग्रह गरेको मन्त्रीका स्वकीय सचिव सुमन आचार्यले जानकारी दिए । ‘केन्द्र सरकारको तर्फबाट र म आफूले सक्ने सहयोग व्यक्तिगत रुपमा पनि गर्छु । तर, तपाईहरू यो प्रदेशलाई नमूना बनाउने गरी काम गर्नुहोस्,’ मन्त्री पुनको भनाई उदृत गर्दै स्वकीय सचिव आर्चायले भने ।
भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार सञ्चालन गर्न आवश्यक जनशक्ति नभएको भन्दै केन्द्र सरकारले आवश्यक कर्मचारी खटाइदिन आग्रह गरेका थिए । मन्त्री पुनले त्यसका लागि आफूले तत्काल पहल गर्ने बताएका छन् । भेटमा मुख्यमन्त्री पोखरेलले बाग्लुङमा रहेको उत्तरगंगा परियोजना प्रदेश सरकारले बनाउन चाहेको भन्दै त्यसका लागि सहयोग गर्न आग्रह गरेका थिए ।