
विराटनगर २८ जेठ – श्रीमान् र छोरी बेपत्ता भएपछि खोजी कार्यमा सहयोग गरिदिन विराटनगरकी तुलसा भण्डारी आचार्यले हारगुहार गरेकी छन् ।
तुलसाले पत्रकार सम्मेलन गर्दै श्रीमान् र छोरीको खोजी कार्यमा सहयोग गर्न सार्वजनिक आह्वान गरेकी छन् । मोरङको रंगेली–२ मझुवा पुल स्थायी घर भई हाल विराटनगर–३ अस्थायी बसोबास गर्दै आएका ३१ वर्षीय दीपक आचार्य र ४ वर्षीय छोरी दक्षिणा आचार्य जेठ १५ गते घरबाट अचानक बेपत्ता भएका थिए ।
श्रीमान् र छोरीको खोजीमा सहयोग गरिदिन भन्दै तुलसाले जिल्ला प्रहरी कार्यालय, मानव अधिकारकर्मी र आफन्तसँग गुहार मागिरहेकी छन् । हराएको २ हप्ता बितिसक्दा पनि श्रीमान् र छोरीबारे पत्ता नलागेको उनले सुनाइन् । पत्रकार सम्मेलन गर्दै तुलसाले भनिन्, ‘विराटनगर–१० कलेज रोडमा आफैंले सञ्चालन गर्दैआएको छापाखानाबाट जेठ १५ गते ३ बजेतिर स्कूलबाट छोरीलाई लिन गएका दीपक अहिलेसम्म फर्किएका छैनन् ।’
‘जेठ १५ गते हामी दुवै जना छापाखानामा काम गरिरहेका थियौं । श्रीमानले मलाई अलिक सञ्चो पनि छैन, म छोरीलाई स्कूल लिन जान्छु, उताको उतै छोरीलाई घर लग्छु भने,’ उनले भनिन्, ‘तिमी अफिस बन्द गरेर आउनु भनेर श्रीमान् घर गएका थिए । म घरमा ६ बजेतिर पुग्दा दुवै बाउछोरी नै थिएनन् । तत्काल मैले आफन्तहरूलाई खबर गरें, कतै भेटिएनन् ।’
यस्तो छ खोजीका लागि प्रकाशित सूचना :

पूर्व कर्मचारीमाथि आशंका
श्रीमान् र छोरी बेपत्ता हुनुमा आफ्नै छापाखानामा काम गरेकी पूर्वकर्मचारीको भूमिका हुनसक्ने आशंका तुलसाको छ ।
श्रीमान् र छोरी बेपत्ता भएदेखि नै ती पूर्वकर्मचारी पनि बेपत्ता भएको उनले बताइन् । ‘छापाखानामा डेढ वर्षदेखि १ जना महिला स्टाफ थिइन् । ती स्टाफले छापाखानामा हिसावकिताबदेखि प्रशासनिक काम र अन्य छापाखानामा हुने गतिविधि समाल्दै आएकी थिइन्,’ तुलसाले भनिन्, ‘काम गर्ने स्टाफ पनि श्रीमान् र छोरी हराएकै दिनदेखि बेपत्ता भएकी छन् ।’
ती कर्मचारीको गतिविधि ठिक नभएकाले घटना हुनु ३ दिनअघि कामबाट हराएको तुलसाले बताइन् । ‘काम गर्ने स्टाफलाई ३ दिनअघि कामबाट हटाएकी थिए,’ उनले भनिन्, ‘श्रीमान् र काम गर्ने स्टाफबीच सम्बन्ध नजिकिएको प्रमाण फेला पारेपछि स्टाफलाई हटाएर आफैं काम समाल्दै आएकी थिएँ ।’
प्रहरीबाट खोजी कार्य जारी
जिल्ला प्रहरी कार्यालय मोरङले दीपक आचार्य र उनकी छोरी हराएको निवेदन परेपछि खोजी कार्य गरिरहेको जनाएको छ । छोरी र श्रीमान् हराएपछि भोलिपल्ट तुलसाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले दीपकले फोन गरेको ‘कल डिटेल’को अनुसन्धान भइरहेको बताए ।
एसपी केसीले भने, ‘बेपत्ता भएका दीपकले प्रयोग गर्दै आएको मोवाइल स्वीच अफ र फेसबुक एकाउण्ट डिएक्टिभ गरेका कारण पत्ता लगाउन गाह्रो भइरहेको छ ।’
उता, सोही दिनदेखि हराएकी ती पूर्व कर्मचारीको परिवारले पनि प्रहरीमा निवेदन दिएका छन् । दुवैको ‘कल डिटेल’ हेरेर केही अनुसन्धानको नजिक पुग्न सकिने प्रहरीले जनाएको छ ।