
काठमाडौं, १ असार– संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठक असार ३० गते बस्ने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिष्द बैठकले संयुक्त बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै सरकारले नेपालको तर्फबाट एशियाली विकास बैंकको वैकल्पिक निर्देशक पदमा कार्यरत पूर्वमुख्य सचिव डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ । बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्ट र राष्ट्रिय समाचार समितिको अध्यक्षमा हरिहर अधिकारी (श्यामल)लाई नियुक्त गरेको छ ।
नेकपाको पार्टी सञ्चालन नियमावली तयार
नेपाल कम्युनिस्ट पार्टीको विधान र नियमावली सम्पादनसहित अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । महासचिव बिष्णु पौडेल संयोजक रहेको नियमावली मस्यौदा कमिटीले ११ अनुच्छेद र ३३ दफा सहितको पार्टी सन्चालन नियमावली बिहीवार बुझाएको हो ।
नियमावलीले नेकपाको केन्द्रमा ३२ वटा विभाग रहने व्यवस्था गरेको छ । विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित ३५ सदस्य रहनेछन् । प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीबाट तोकिनेछन् भने सचिव विभागका सदस्यले चयन गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै प्रदेश कमिटीका बिभागहरुमा १५ र जिल्लाका विभागमा ११ सदस्य रहने व्यवस्था गरिएको छ ।
पुरानै एजेण्डा प्राथमिकतामा
प्रधानमन्त्री केपी ओलीको असार ५ गते शुरु हुने चीन भ्रमणमा पुरानै एजेन्डाले प्राथमिकतामा पाउने भएका छन् । भ्रमणबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमणमा पुरानै सहमतिका एजेन्डालाई प्राथमिकता दिइने जानकारी दिए ।
ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन र यातायात तथा पारवाहनसँग सम्बन्धित विषयमा पनि प्रधानमन्त्रीको भ्रमणमा सहमति हुने उनले जानकारी दिए ।
हिमालय एयरलाइन्सको विमानबाट चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङका साथै त्यहाँका शीर्ष नेताहरूसँग उच्चस्तरीय भेटवार्ता भने ७ असारमा हुने भएको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
एनजीओ र आईएनजीओमा सरकारको निगरानी
सरकारले गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) का पदाधिकारीहरूको सम्पत्ति विवरण माग गरेको छ । गृहमन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गर्दै पदाधिकारीको सम्पत्ति विवरण शिलबन्दी गरेर पठाउन निर्देशन दिएको हो ।
एनजीओ र आईएनजीओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित मन्त्रालयले नियमनलाई तीव्रता दिने निर्णय गरेको हो ।
रोजगार विभागका कर्मचारी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागको अनुसन्धान शाखामा कार्यरत रामप्रसाद ढुंगानालाई ५० हजार घूससहित पक्राउ गरेको छ ।
आयोगको टोलीले ढुंगानालाई बिहीबार दिउँसो कार्यकक्षबाटै पक्राउ गरेको हो । उनले वैदेशिक रोजगार कार्यालयबाट विज्ञापन गर्न अनुमति नपाएको म्यानपावरले कामदार भर्ना प्रक्रिया शुरु गरेको मुद्दामा अनुसन्धान गरेका थिए ।
प्रदेश ३ः दुई विधेयक पारित
प्रदेश नं ३ प्रदेशसभाको बिहीबारको बैठकले प्रदेशको आकस्मिक कोषको स्थापनासम्बन्धी विधेयक २०७५ र प्रदेशको वित्तीय व्यवस्थापन गर्ने विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ ।
शुक्रबार अपराह्न ३ बजे प्रदेश सरकारको आगामी आव २०७५/०७६ का लागि बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बैठकमा जानकारी गराए ।
यसैगरी कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि शुक्रबार बजेट ल्याउँदैछ । घाटा बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले २३ अर्बभन्दा बढीको बजेट संसदमा पेश गर्न लागेको हो ।
प्रदेश ४ः दुई विधेयक पारित
प्रदेश नं ४ को बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएको छ ।
प्रदेश २ : प्रदेश प्रहरी ऐन पारित
प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ । केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक प्रदेशसभामा पेश हुने बाटो खुलेको छ ।
नोवल शान्ति पुरस्कारमा ट्रम्पको नाम सिफारिस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ । नर्वेका दुईजना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् ।
नर्वेको पपुलिस्ट प्रोग्रेस पार्टीका सांसदहरू क्रिस्टियन टेब्रिङ र पेर विली एमुडसेनले उत्तर कोरियालीनेता किम जोङ उनसँगको ऐतिहासिक सिंगापुर वार्ताका कारण ट्रम्पको नाम नोवल पुरस्कारका लागि सिफारिस गरेको बताएका छन् ।
उद्घाटन खेलमा रसियाको सानदार जित
२१औँ संस्करणको विश्वकपअन्तर्गतको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि सानदार जित दर्ता गरेको छ ।
मस्कोस्थित लुजिन्की रंगशालामा बिहिबार अबेर सम्पन्न खेलमा रसियाले साउदीलाई ५–० ले पराजित गरेको हो ।
खेलको अधिकांश समय साउदी अरबयाविरुद्ध हाबी भएको रसियाका लागि १२ औं मिनेटमा युरी गान्जिनस्काईले सुरुवाती गोल गरे । पहिलो जितपछि रसियाले समूह ए को अंक तालिकामा ३ अंक जोडेको छ ।