बुटवल, ५ असार – रूपन्देहीमा सञ्चालित राष्ट्रिय महत्वका ठूला आयोजनाको निर्माण कार्य सुस्त छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल बेलहिया ‘सिक्स’ लेन सडक, बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बेलवास–बेथरी नमूना सडक निर्माणको चरणमा छन् । तर, ४ वटै ठूला आयोजनाको निर्माण कार्य सुस्त गतिमा अगाडि बढेका छन् । विकास आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई सरकारले कारवाही गर्न नसक्दा अधिकांश आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् । ५ वर्षमा सक्ने आयोजना ८ वर्षसम्म पनि अलपत्र जस्तै छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय महत्वको उपत्यका बाहिर पहिलो पटक निर्माण थालिएको बुटवल–बेलहिया ‘सिक्स’ लेन सडक र बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको चरणमा जिल्लाका गौरवमा आयोजनाको रूपमा लिइन्छ । ७ वर्ष अगाडि सन् २०१७ भित्र सक्ने गरी निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलन निर्माणको काम हालसम्म जम्मा ५० प्रतिशत मात्र सकिएको छ ।
आयोजनका प्रमुख इन्जिनियर ओम शर्माले पछिल्लो समय काम धमाधम भइरहेपनि समयमा सम्पन्न गर्न कठिनाइ भएको बताए । उनले भने, ‘पहिला केही समस्या आयो अहिले काम भइरहेको छ । अहिले कुनै समस्या छैन,’ उनले भने । नेपाल सरकार र एसियाली विकास बैंकको सम्झौतामा ८ अर्ब ५५ करोड रूपैयाँको लगानीमा चीनको नर्थवेस्ट सिभिल एभिएसन कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको थियो ।
२०६८ सालबाट ५ वर्षभित्र सम्पन्न गर्ने गरी शुरू भएको बुटवल बेलहिया ६ लेनको सडकको हालत पनि उहीँ छ । साढे ७ वर्षमा १७ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । यो सडक २७ किलोमिटर छ । हालसम्म बुटवलतर्फ ६ किलोमिटर, भैरहवातर्फ साढे ७ किलोमिटर र बिच भागमा साढे ३ किलोमिटर सडक निर्माण सकिएको छ । बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३ दशमलव ७ किलोमिटर सडक ४ लेनको निर्माण गरिएपनि फेरि ६ लेनको बनाउन थालिएपनि अदालतको आदेशमा ढिलाइ भएको छ । बाँकी ९ किलोमिटरको निर्माण जारी छ ।
२०७१ साल अर्थात् ३ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित शुरू भएको आयोजना ८ वर्षमा पनि पूरा नहुँदा सर्वसाधारणको यात्रा कष्टपूर्ण भएको छ । नाकाबन्दी, नदीजन्य पदार्थ अभाव र सडक दाँयाबायाँका घरहरू भत्काउन ढिलाइ हुँदा निर्धारित सडक पूरा हुन नसकेको बुटवल बेलहिया सडक विस्तार आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठ बताउँछन् । उनले भने, ‘हामी अहिले धमाधम बाँकी तीनै फेजमा काम गरिरहेका छौं । असोजसम्म सडक पूरा गर्ने लक्ष्यका साथ भिडेका छौं । अबको दशैंमा यात्रुले बुटवल भैरहवा सहज यात्रा गर्न पाउँछन् ।’
निर्धाणाधीन सडकमध्ये ९ किलोमिटरका ८० प्रतिशत काम सकिएको छ । आयोजनाको कूल लागत ५ अर्ब ८६ करोड रुपैयाँमध्ये हालसम्म ३ अर्ब ९९ करोड रुपैयाँ खर्च भइसकेको श्रेष्ठले जानकारी दिए । चालू आर्थिक वर्षका लागि ३६ करोड रुपैयाँ रकम आवश्यक रहेको छ । आर्थिक वर्ष २०६७/६८ बाट शुरू भएको सडक निर्माणको ठेक्का कञ्चनजंघा जेभी, टेली कम्यूनिकेसन प्रालि, कालिका रायमाझी जेभी, विरुवा श्रेष्ठ एपेक्स, कालिका तामाङ जेभी र विरुवा कन्स्ट्रक्सनले गरी ५ अर्ब ८६ करोडको ठेक्का सम्झौता गरेका थिए ।
उपत्यका बाहिरकै ठूलो बुटवलमा निर्माण थालिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पनि ढिलाइ भएको छ । बुटवल–१० रामनगर निर्माणाधीन अवस्थामा रहेको बुटवल सभाहलको काम ३ पटक म्याद थप गर्दा समेत पूरा नहुने भएको छ । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईका इन्जिनियर राजकुमार मण्डलले रुख कटानमा ढिलाइ हुँदा काम समयमा सम्पन्न गर्न समस्या भएको बताए । ३० महिनामा निर्माण पूरा गर्ने गरी २०७१ माघ १५ गते निर्माण कम्पनी रविना समानन्तर चन्द्रसुर्य जेबी कम्पनीले बुटवल सभा हलको ठेक्का सम्झौता भएको थियो ।
तर, निर्धारित समयमा काम नसकेपछि आयोजनाले पटक–पटक विभिन्न कारण देखाएर म्याद थप गरिरहेको छ । निर्माण सम्पन्न गर्नुपर्ने समय पूरा भएपनि अहिले पहिलो फेजको काम ६५ प्रतिशत मात्र भएको छ । साढे २३ करोड रुपैयाँको लागतमा पहिलो फेजको काम भइरहेको छ । ठेकेदार कम्पनीले समेत १५ करोड २२ लाख रुपैयाँ रकम भुक्तानी लगिसकेको छ । मण्डपमा रहेका रुख काट्ने अनुमति ढिला पाउनु, भुकम्प, नाकाबन्दी र निर्माण सामग्रीको अभावका कारण समय सीमामा काम नसकिएको मण्डलले दावी गरे ।
पहिलो चरण अन्र्तगत सुर्य आकारमा अहिले पहिलो तला फाउण्डेसनको काम, पिल्लरको ढलाई, बिम कस्ने तथा चुरी उठाउने काम भइसकेको छ । पहिलो चरणमा एउटा १ हजार १ सय १४ जना अटाउने मुख्य सम्मेलन हल, ५०/५० र १/१ सय अटाउने अन्य ४ वटा हल गरी जम्मा ५ वटा विभिन्न प्रयोजनका हल निर्माण हुने छन् । बुटवल मण्डपमा रहेको साढे १६ विगाहा जग्गामध्ये १० विगाहा क्षेत्रफलमा सभा निर्माण हुँदैछ ।
पहिलो फेज अन्तर्गतको काम जारी भएपनि दोस्रो फेजमा चन्द्रमा आकारको निर्माण प्रक्रिया शुरू भएको छ । ८० करोड रुपैयाँको लागतमा निर्माण हुने चन्द्रमा फेजको निर्माण ठेक्का आशिष निर्माण सेवाले पाएको छ । त्यसपछि तेस्रो फेजमा बुटवल प्रदर्शनी केन्द्र निर्माण हुनेछ । यसको अनुमानित लागत करीब डेढ अर्ब छ । सतहबाट हेर्दा ब्लक अनुसार फरक–फरक भएपनि एउटा तहमा पुगेपछि ३ वटै ब्लक एकआपसमा जोडेर नेपालको झण्डा आकारको बन्ने छ ।
बेलबास बेथरी सडक २०७३ सालबाट १ अर्ब ४८ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण सम्झौता गरिएको भएपनि अहिले घर, नहर र बिजुलीका पोल व्यवस्थापन हुन नसक्दा काम अगाडि बढ्न सकेको छैन ।