३० जेठ २०८३, शनिबार

एक युवा डाक्टरले डा. उपेन्द्र देवकोटालाई यसरी दिइन् श्रद्धाञ्जली

एक युवा डाक्टरले डा. उपेन्द्र देवकोटालाई यसरी दिइन् श्रद्धाञ्जली
डा. राजन किशोरी केसी

लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्यूरो सर्जन तथा पूर्वस्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाको निधनले आममानिसलाई शोकाकुल बनाएको छ । देशको चिकित्सा क्षेत्रमा अपुरणीय क्षति बेहेर्नुपरेको छ ।

जन्मपछि मृत्यु हुनु स्वभाविक प्रक्रिया हो । तर उपेन्द्र देवकोटाले मृत्युको त्रास कहिल्यै व्यक्त गर्नुभएन । मृत्युलाई साहसिकरूपमा स्वीकार्नुभयो । उहाँ हामी माझ नरहे पनि उहाँले गरेका अनगिन्ति  सम्झनालायक कामहरू छाडेर जानुभएको छ ।

नेपालको स्वास्थ्य क्षेको विकासमा डा. देवकोटाको अमूल्य योगदान छ । करीब ३७ वर्ष लामो समय चिकित्सा पेशामा बिताइसकेका डा. देवकोटाले लगभग ३४ हजारभन्दा बढी बिरामीको शल्यक्रिया र १२ लाखभन्दा बढी बिरामीहरूको उपचार र धेरैलाई पुनर्जीवन दिनुभएको थियो । २५ वर्ष जति वीर अस्पतालमा बिताउनुभएका देवकोटाले गरीब तथा निम्नस्तरका बिरामीलाई सेवा दिँदै आउनुभएको थियो ।

सात महिना स्वास्थ्यमन्त्री हुँदा उहाँले धेरै नयाँ काम गर्नुभएको थियो । अध्यादेशमार्फत राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नाम्स) बनाउने, विशेषज्ञ अध्यनको पढाइ नेपालमा नै शुरु गर्ने, गुणस्तरीय स्वास्थ्य सेवालाई विकेन्द्रित गर्ने, वीर अस्पतालमा न्यूरो सर्जरी विभागको स्थापना गर्ने, स्वास्थ्य बिमा लागू गर्ने, दुईवर्ष दुर्गममा बसेपछि सरकारले पोस्टग्राजुयट (पीजी) निःशुल्क पढाइदिने आदि कुराहरूलाई प्राथमिकताका साथ लागू गर्नुभएको थियो । 

यसले गर्दा आज नेपालको इतिहासमा चिकित्सा क्षेत्रले गुणस्तरीय सेवा दिँदै आएको छ । एसियामा नेपालले स्वास्थ्य विज्ञानमा उत्कृष्ट भूमिका निभाउँदै आएकाे छ भनेर उहाँले चिनाउँदै आउनुभएको थियो । त्यसैगरी नेपालको पहिलो दक्षता तथा सेवायुक्त न्यूरो अस्पताल स्थापना गरेर लाखौँ बिरामीहरूलाई सेवा र धेरै नयाँ दक्ष न्यूरो चिकित्सकहरू उत्पादन गरी नेपालको चिकित्सा सेवामा अतुलनीय योगदान दिनुभएको छ ।

चिकित्सा क्षेत्रमा नेपाल र नेपालीको शान डा. देवकोटा नेपालमा मात्र नभएर एशियाको एक अब्बल र नामी न्यूरो सर्जनका रूपमा प्रख्यात हुनुन्थ्यो ।

अब राष्ट्रले उहाँजस्तो न्यूरो सर्जन जन्माउन पक्कै पनि धेरै समय कुर्नुपर्छ होला । डा. देवकोटा हामी नेपालीहरूका लागि एक अमूल्य गहना हुनुन्थ्यो । साथै स्वास्थ्य क्षेत्रमा मात्र नभई राजनीतिलाई नजिकबाट नियाल्ने एक प्रबुद्ध नागरिक समेत हुनुन्थ्यो ।

बेलायतमा उच्च  शिक्षा हासिल गरी आफ्नै मातृभूमिको सेवा गर्ने भनेर स्वोदेश फर्केर आउनुभएको र आफ्नै माटोमा केही गर्छु भनेर दृढता बोकी असंख्य बिरामीहरूको सेवामा समर्पित हुनुभएको थियो ।

उहाँको त्याग, तपस्या र साधनाले मातृभूमिप्रति अगाध प्रेम देखाइदिनुभएको छ । लाखौं प्रतिभाशाली तथा दक्ष युवाहरूलाई प्रेरणा र हौसला प्रदान गरिदिनुभएको छ । उहाँले सम्पूर्ण नेपालीमाझ एकपल्ट फेरि देशभक्ति र एकता जगाइदिनुभएको छ । बेलायतमा उपचार सम्भव नभएपछि स्वदेशमा नै फिर्ता भइ देहत्याग गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

उहाँले जीवनको अन्तिम अवस्थामा आफ्नो जन्मथलो गोरखास्थित सिस्नुधाराको पानी पिएर सन्तुष्टिको सास पनि फेर्नुभयो ।

आफूलाई जन्म दिने आमा र आफ्नो जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने कुरालाई चरितार्थ गरेर जानुभएको छ ।

डा. उपेन्द्र देवकोटाको बैकुण्ठमा बास होस् । उहाँप्रति हर्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चीर शान्तिको कामना साथै शोकाकूल परिवारप्रति हार्दिक समवेदना ।

(डा. केसी हाल चीनमा रहेर प्रसुती तथा स्त्री रोगको विशेषज्ञताका लागि अध्ययनरत छिन्)

salt training

कमेन्ट गर्नुहोस्