
विराटनगर, ८ असार – मोरङको उर्लाबारी– ५ स्थित एरोमा होटलमा गएराति विश्वकप फूटबल हेर्नेक्रममा भएको विवादमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन् ।
फूटबल म्याच सकिएपछि राति ३ बजे उर्लाबारी वडा नम्बर ३ का वडा सदस्य अन्दाजी ४० वर्षीय सचिन शाक्यले चक्कु प्रहार गरी सोही वडाका २८ वर्षीय विशाल तामाङलाई घाइते बताएका हुन् ।
घाइते तामाङको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
दुई जनाबीच के विषयमा विवाद भएको थियो भन्ने खुल्न सकेको छैन ।
चक्कु प्रहार गर्ने शाक्य फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
घाइते तामाङ मोरङ – ११ बाट फुटबल खेल्ने गर्छन् । चक्कु प्रहार गर्ने शाक्य तरुण दल मोरङका सचिव र उर्लाबारी जेसिजका अध्यक्ष समेत हुन् ।