
काठमाडौं, ८ असार– पर्यटकका लागि पथ प्रदर्शक (टुरिस्ट गाइड)का रुपमा कार्यरत व्यक्तिको समेत नक्कली प्रमाण पत्र फेला परेको छ । सरकारी नियमानुसार टूरिस्ट गाइड बन्नका लागि स्नातक पास गर्नुपर्ने र विदेशी भाषामा पोख्त हुनुपर्नेमा केही व्यक्ति नक्कली प्रमाण पत्र बनाएर टूरिस्ट गाइड बनेको फेला परेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नक्कली प्रमाण पत्र बनाएर टुरिस्ट गाइडको रुपमा कार्यरत ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
नक्कली प्रमाणपत्रका आधारमा टुरिस्टि गाइडको रुपमा कार्यरत रहेको सूचनाका आधारामा उनीहरुलाई पक्राउ गरिएको सिआईबीको प्रहरी उपरीक्षक (एसपी) कृष्णहरी शर्माले जानकारी दिए ।
नक्कली सर्टिफिकेट पेश गरी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ष्ठानबाट चिनियाँ भाषाको पर्यटकको लागि पथ प्रदर्शकको अनुमति पत्र लिएर काम गर्दै आएका उनीहरुलाई काठमाडौंस्थित पर्यटन विभागबाटै पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा चाइनिज टुरिस्ट गाइडका रुपमा कार्यरत काठमाडौं सामाखुसीका अनिल महर्जन, जमलका रमेश महर्जन, भक्तपुरका राजिब महर्जन, ललितपुर सुनाकोठीका अमृत डंगोल, भक्तपुर वंशगोपालका किशोर चौगुठी र भक्तपुर कटुन्जेका माधव चालिसे छन् ।
पक्राउ परेका ६ जनाविरुद्ध सरकारी किर्ते छाप दस्तखत ऐनअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्लाबाट म्याद थप गरि हिरासतमा राखिएको सिआईबीले जनाएको छ ।