
विराटनगर, ८ जेठ – आफैंमाथि भएको गाली प्रहार प्रकरणका अभियुक्त पण्डित श्री निवासाचार्य ५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिनभित्रै उनी छुटेका हुन् । जिल्ला प्रशासन कार्यालयको आदेशमा चित्त नबुझेपछि श्रीनिवासले जिल्ला अदालत मोरङमा पुनरावेदन गरेका थिए ।
अदालतले आज दिएको आदेशमा ‘उनलाई थुनामा राखिरहनुपर्ने कारण नदेखिएकाले ५ हजार रुपैयाँ धरौटी लिएर छाड्नु’ भन्ने उल्लेख छ । अदालतको आदेशका आधारमा उनलाई छाडिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । जेठ १६ गते जिल्ला प्रशासनको आदेशमा पुर्पक्षका लागि उनी कारागार चलान गरिएपछि झुम्का कारागारमा राखिएको थियो ।
श्रीनिवासलाई हातहतियार तथा खरखजाना ऐन २०१९ को दफा २४ (क) बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । उनको रिहा भएसँगै उनलाई लैजान धार्मिक अनुयायी तथा समर्थकको जिल्ला प्रशासन कार्यालयमा भीड लागेको थियो ।
बाराको सिमरा–३ घर भइ सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए । आचार्यमाथि चैत २५ गते राति १ बजेर ४५ मिनेटतिर शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो । उनलाई उनकै सुरक्षा गार्डले गोली प्रहार गरेका थिए ।