
बुटवल, ८ असार – बुटवल उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राखेको छ ।
उपमहानगरको आज शुरू तेस्रो सुन्दर बुटवल, समृद्ध बुटवल र सुखी बुटवलवासीको संकल्प गर्दै नगर प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । आजको नगर सभामा प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष सम्बोधन गरेका थिए । त्यसक्रममा उनले जनतालाई साथमा लिएर विधि र प्रक्रिया पूरा गर्दै सुशासन कायम गराउन सुझाव दिए ।
‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’को दीर्घकालीन उद्देश्यका बोकेको नीति तथा कार्यक्रममा पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारका थप सम्भावनाको विकासलाई प्राथमिकतामा राखिएको छ । जनस्वास्थ्य प्रवद्र्धन सम्बन्धी नीति अन्तर्गत नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ भने मोतिपुर र सेमलारका स्वास्थ्य चौकीमा १५ शैयाका अस्पतालका रुपमा विकास गर्ने नीति लिइएको छ ।
मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा प्रभावकारी तथा नतिजामुखी सुधारका लागि उपप्रमुख गर्भवती भेट अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य स्वयम्सेविकामार्फत् सबै घरधुरीमा नागरिकसँग जनप्रतिनिधि अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ । छिमेकी स्थानीय सरकारसँग प्राकृतिक स्रोत, छाडा चौपाया सरसफाई व्यवस्थापन, वारुणयन्त्र सञ्चालन लगायत कामका लागि समन्वय र सहकार्य गर्दै महानगरीय अवधारणाका साथ अगाडि बढ्ने नीति लिइएको छ ।
जनसहभागितामा आधारित कार्यक्रमलाई अझ परिस्कृत गर्दै प्रतिस्पर्धामा आधारित बनाइने र कामका आधारमा सम्मान गर्ने समेत नीति बनाइएको छ । बुटवललाई विषादीरहित खाद्यवस्तु उपलव्ध हुने शहरका रुपमा पहिचान गराइने, एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरिने, कौशी तरकारी खेती कार्यक्रमलाई निरन्तरता दिइने उपमहानगरले नीति बनाएको छ । कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने नीति बनाइएको छ ।
नगरपालिकाद्वारा सञ्चालन गरिने सबै किसिमका विकास आयोजनामा नेपाली मात्र कामदार श्रमिक प्रयोग गरी समयसीमामा सम्पन्न गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने नीति बनाउन लागेको छ । पार्किङको समस्या समाधानका लागि उपमहानगरले दीर्घकालीन योजना बनाउन लागेको छ । बढी भीडभाड हुने क्षेत्रलाई लक्षित गरेर अन्डरग्राउण्ड सहितका व्यवसायिक पार्किङ भवन बनाउन अध्ययन गरिने भएको छ ।
सार्वजानिक–निजी–सहकारी साझेदारीमार्फत् पार्किङ हाउस बनाउन अध्ययन शुरू गर्ने उपमहानगरको तयारी छ । १ हजार वर्ग फिटभन्दा धेरै क्षेत्रफल ओगटेर पार्किङ सहितका नयाँ भवन बनाउनेलाई प्रोत्साहन स्वरुप नक्सा प्रक्रियामा ४० प्रतिशत छुट दिने नीति लिइने भएको छ । यो सुविधा मुख्य शहरी क्षेत्रभन्दा बाहिरलाई समेत प्रदान गरिने भएको छ । नगर क्षेत्रभित्र सार्वजानिक निजी सहकारी अवधारणा बमोजिम अत्याधुनिक ट्रमा सेन्टर निर्माण गर्ने जग्गा व्यवस्थापन गरिने भएको छ ।
कम्तिमा ५० जना स्वदेशी श्रमिकलाई रोजगार दिने रोजगारदाता वस्तु वा सेवा उद्योगलाई तोकिएको व्यवसाय करमा ५० प्रतिशत छुट दिने नीति लिइने भएको छ । मेडिकल कलेज, इन्जिनियरिङ्ग कलेज, टेक्निकल कलेज तथा स्टार होटल वा पर्यटक स्तरीय सेवा उद्योग नगरमा सञ्चालन गर्नेलाई निर्माणका लागि विद्युत् ट्रान्सफर्मर, खानेपानी, बोरिङ र पहँुच मार्ग निर्माणमा लाग्ने रकमको ४० प्रतिशत रकम अनुदान दिने नीति लिइएको छ ।
जमिनमुनिका पानीका प्राकृतिक स्रोत सुक्दै र नासिँदै गइरहेको समयमा वाटर रिचार्ज सिस्टमलाई मद्दत मिल्ने गरी वनमा पोखरी निर्माण गरिने भएको छ । सामुदायिक वनसँगको सहकार्यमा ‘१ वन ३ पोखरी’ निर्माण कार्यक्रमका लागि प्रतिपोखरी २ लाख रुपैयाँका दरले अनुदान दिइने भएको छ ।
सामुदायिक वनसँग समन्वय गरी पोखरी निर्माण जलाधार संरक्षण पार्क व्यवस्थापन अग्नीपथ र जंगल सफारी ट्रयाक निर्माण गर्ने नीति लिइने छ । साथै, वडा–वडामा पोखरी निर्माण गरी माछापालनसहित अनुदानमा आधारित कार्यक्रम बनाइने भएको छ । तिनाउ जलाधार संरक्षणका लागि तिनाउ जलाधार संरक्षण योगदान कोषसँग सहकार्य गर्ने नीति लिइने छ ।
बुटवलका ऐतिहासिक, पुरातात्विक सम्पदाको उत्खनन्, संरक्षण र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने नीति लिइने भएको छ । ऐतिहासिक जीतगढी किल्ला समिपमा रहेको वस्तीलाई प्रचलित कानून बमोजिम हटाई खुल्ला गर्ने नीति लिइने भएको छ । जितगढी संग्रालयको लागि आवश्यक पूर्वाधार यसै वर्ष आरम्भ गर्ने उपमहानगरको तयारी छ ।
नगरमा रहेको युवा बेरोजगारीको अन्त्यका लागि प्रत्येक वर्ष ५ सय जनाका दरले सीपमूलक तालिम प्रदान गरिने भएको छ । स्वरोजगार कार्यक्रम सञ्चालन गर्न ‘मेयर युवा इलम कार्यक्रम’ सञ्चालन गरिने भएको छ । लैंगिक तथा घरेलु हिंसा, यौन शोषण, जोखिममा परेका बालबालिका अपाङ्गता भएका तथा यौनिक अल्पसंख्यकलाई विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । नगर प्रज्ञा प्रतिष्ठान गर्दै कला संस्कृतिको संरक्षण गरिने भएको छ ।
महिला, जनजाति, दलित, आदिवासी, उत्थान कार्यक्रम सञ्चालन गर्ने नगरको नीति कार्यक्रममा छ । महिला, जनजाति दलित, आदिवासी र दलित उत्थान समिति गठन गरी लक्षित वर्गको सशक्तिकरणका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धनको लागि ज्येष्ठ नागरिक स्वास्थ्य अभियान अन्तर्गत स्वास्थ्य परीक्षण शिविर र सहायता सामग्री वितरण, घरदैलो स्वास्थ्य परीक्षणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिने छ ।
आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रको विकास र विस्तार गर्दै लगिने भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य शिक्षा कर्नरको व्यवस्था गरिने छ । किशोरकिशोरी मैत्री सेवाको शुरुवात लागि आवश्यक पहल गरिने छ । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबै विद्यालयमा १ जना स्वास्थ्यकर्मीको अनिवार्य व्यवस्था गर्नको लागि आवश्यक कदम चालिने छ ।
बुटवललाई मुख्य थलो बनाएर खोलिएका फर्म, कम्पनी, उद्योग तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको रुपमा खर्च गर्नुपर्ने रकमलाई पारदर्शी र प्रभावकारी बनाउन सामाजिक उत्तरदायित्व कोषको स्थापना गरिने भएको छ ।