२५ असार २०८३, बिहीबार

क्रिस्चियन संस्थाले विद्यार्थी तानेपछि सरकारी स्कूल बन्द !

कात्तिक २०, २०७४
क्रिस्चियन संस्थाले विद्यार्थी तानेपछि सरकारी स्कूल बन्द !
काठमाडौं, २ फागुन - ललितपुरको छम्पी क्षेत्रमा रहेका सरकारी विद्यालयका विद्यार्थीलाई क्रिस्चियन संस्थाले निजी बोर्डिङ स्कूलमा भर्ना गराइदिएपछि सरकारी विद्यालयहरू समस्यामा परेका छन्।

जर्मन नागरिक ओमारीले 'ओम सिभम वेलफर सेन्टर' नामक संस्था खोलेर सरकारी विद्यालयका विद्यार्थीलाई निजी विद्यालयमा पठाएका हुन्।उनले आफैंले खोलेको अर्को संस्था मार्फत पनि सरकारी विद्यालयका विद्यार्थीलाई निजी विद्यालयमा पठाएका छन्।

छम्पी क्षेत्रका छम्पीदेवी उच्च मावि, बुद्ध मावि, गणेश प्रावि लगायत विद्यालयमा रहेका विद्यार्थीलाई यी संस्थाले सम्पूर्ण पढाइ खर्च बेहोरेर बोर्डिङ स्कूलमा भर्ना गराइदिएका हुन्। संस्थाले छम्पी क्षेत्रमै रहेका टीकाभैरव बोर्डिङ स्कूल, नोबल एकेडेमी, होली टेम्पल लगायतका बोर्डिङ स्कूलमा विद्यार्थी भर्ना गराइदिएको छम्पीदेवी उच्च माविका प्रधानाध्यापक सुरथ गौतमले बताए।

उनका अनुसार ती संस्थाले दलित तथा जनजाति समुदायका विद्यार्थीहरूलाई छानेर बोर्डिङ स्कूलमा भर्ना गरिदिएको छ।'भर्नादेखि, कापी कलम, मासिक शुल्क, पोशाक लगायत सबै खर्च बेहोरेर संस्थाले निजी बोर्डिङ स्कूलमा लगेको छ,' गौतमले लोकान्तरसँग भने, 'धर्म परिवर्तन गराउने मनसाय राखेको यस्तो काम गरिएको जस्तो देखिन्छ।'

छम्पीको भगवती प्राविका सबै विद्यार्थीलाई बोर्डिङमा लगिएपछि विद्यालय नै बन्द भएको छ।'त्यहाँका ४५ जना विद्यार्थीलाई उठाएर निजीमा लगिएको छ,' गौतमले भने, 'हाम्रो विद्यालयका चाहिँ २५ जना जति विद्यार्थीलाई लगियो।'

यसरी सरकारी विद्यालयका विद्यार्थीलाई गैरसरकारी संस्थाले उठाएर निजी विद्यालयमा लगिदिएपछि शिक्षक अभिभावकहरू आतंकित भएका छन्।सरकारी विद्यालयहरूले स्रोत केन्द्र स्तरबाट निर्णय नै गराएर जिल्ला शिक्षा कार्यालयमा निवदेन दिएका छन्।तर जिल्ला शिक्षा कार्यालयले यो विषयमका कुनै पनि कदम नचालेको उनीहरूले आरोप लगाएका छन्।

उनीहरूले गैरसरकारी संस्थाले सहयोग गर्न चाहेमा सरकारी स्कूललाई नै गर्नुपर्ने तर विद्यार्थीहरू उठाउन नपाउने भन्दै उनीहरूले जिल्ला शिक्षा कार्यालय ललितपुरमा निवेदन दिएका हुन्।

'हामीले बेलैमा जिल्ला शिक्षा कार्यालयमा जानकारी गराएका छौं,' अर्का एक शिक्षकले भने, 'शिक्षा कार्यालयले मतलब नगरेपछि हामीले जति विद्यार्थी आउँछन्, त्यतिलाई नै पढाउनुप-यो।' बालबालिकाका परिवारलाई पैसाको लोभ देखाएर शिवशक्ति नामक सो संस्था धर्म परिवर्तन गराउने खेलमा लागेको शिक्षक तथा अभिभावकले बताएका छन्।सो क्षेत्रमा अन्य केही क्रिस्चियन संस्था क्रियाशील छन्।

स्थानीय एक समाजसेवी अगुवाका अनुसार ओमारीले छात्रवृत्ति प्रदान गर्ने नाममा सरकारी विद्यालयका विद्यार्थी घटाउन र धर्म परिवर्तनको खेलमा लागेको आरोप लगाए।'सरकारको लगानी सरकारी विद्यालयमै हुन्छ, विदेशीको लगानी निजी विद्यालयमा हुन सक्दैन,' उनले भने, 'यसरी त सरकारी विद्यालयहरू बन्दै हुने अवस्था आउँछ।'

उनका अनुसार जिल्ला शिक्षा कार्यालयले आफ्नो पीडा लिएर पुगेका प्रधानाध्यापकहरूलाई ओमारीको बारेमा छानबिन गर्ने आश्वासन दिएको थियो।तर अहिले अरू कुरा गरेर तर्किरहेको छ। गत वैशाखदेखि नै ओमारीको संस्थाले सरकारी विद्यालयका विद्यार्थीहरूलाई उठाएर निजी विद्यालयमा पढाउने गरेको बताए।तर शिक्षक तथा अभिभावकहरूले चाहिँ बरू सरकारी विद्यालयलाई नै सहयोग गर्न आग्रह गरेका थिए।

ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलानाथ पुरीले अघिल्लो वर्षदेखि नै यस विषयमा कुरा उठेको र यसलाई नियन्त्रण गर्ने कोशिश गरेको उनले बताए।उनले अघिल्लो वर्ष यो विषयमा एउटा निवेदन परेको र सम्बन्धित गैरसरकारी संस्थालाई सचेत बनाउने काम गरेको बताए।

'हामीले सचेत चाहिँ गराएका हौं, यो वर्ष भर्खरै शैक्षिक सत्र शुरु हुँदैछ,' उनले भने, 'फेरि पनि सचेत बनाउछौं।' उनले गैरसरकारी संस्थाले छात्रवृत्ति दिन चाहेमा सरकारी विद्यालयमै उपलब्ध गराउनका लागि आफूले अनुरोध गरेको समेत लोकान्तरलाई बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्