
काठमाडौं, १३ असार – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको नाममा युवा ठग्ने मेनपावर कम्पनीको १ रुपैयाँ खाएको प्रमाण ल्याएमा सार्वजनिक जीवन त्याग्ने बताएका छन् ।
नेमकिपा सांसद प्रेम सुवालले वैदेशिक रोजगारीको ठगीबाट उठ्ने पैसा मन्त्री र सचिवसम्म पुग्ने गरेको सन्दर्भमा राखेको प्रश्नमा मन्त्री विष्टले त्यस्तो प्रमाणित गर्न चुनौती दिए ।
‘माननीय जीले विगतको सम्झनामा राख्नुभएको भए आपत्ति छैन । तर, श्रम रोजगार मन्त्रीको हैसियतले प्रश्नकर्तालाई चुनौती दिन चाहन्छु, मन्त्री र सचिवले १ पैसा दुरुपयोग भएको थाहा भएमा सार्वजनिक बिदा लिने छौं,’ मन्त्री विष्टले भने, ‘सांसदले संसदमा बोल्दा आफ्नो गरिमा कायम राख्नुपर्छ ।’
मन्त्रीको जवाफपछि सांसद सुवालले नियमापत्ति गर्न खोजेपनि बैठकको अध्यक्षता गरेकी उपसभामुख डा. शिवमायाँ तुम्बाहाम्फेले नियमापत्ति नलाग्ने बताइन् ।