काठमाडौं, २ फागुन — ल्यान्डमाइन भनेको विस्फोटक पदार्थसहितका एक हतियार हो । व्यक्ति वा गाडीको सम्पर्कमा आउँदा यो विस्फोट हुन्छ ।

कुनै पनि व्यक्ति वा गाडीलाई ध्वस्त बनाउन ल्यान्डमाइनको प्रयोग गरिन्छ । यस्ता ल्यान्डमाइन प्रायः जमीनको १५ सेन्टीमिटरमुनि गाडिएको हुन्छ ।
वान वर्ल्ड नामक संस्थाका अनुसार संसारभरि करीब ११ करोड ल्यान्डमाइन जमीनमा गाडिएका छन् भने अरू १० करोड भण्डार गरिएका छन् ।
ल्यान्डमाइन अहिले विश्वव्यापी मुद्दा भएको छ र लाखौं जीवन यसको जोखिममा छन् । हरेक १५ मिनेटमा एक व्यक्ति ल्यान्डमाइनको शिकार भइराखेका छन् । नेपालमा पनि माओवादी द्वन्द्व चर्केका बेलामा धेरै ल्यान्डमाइन गाडिएका थिए र द्वन्द्व सकिएपछि पनि बालबालिकाले खेलौना भन्ठानेर चलाउँदा विस्फोट भएको खबर आएका थिए ।
तर अहिले हावाको ऊर्जाबाट चल्ने एउटा यन्त्र बनेको छ । माइन काफोन नामक यो यन्त्रले ल्यान्डमाइनहरू पत्ता लगाउँछ । हावाको गतिमा बग्ने गरी हलुका अनि माइन पत्ता लगाउन मिल्ने गरी ठूलो छ यो यन्त्र ।
यो बाँस र जैविक रूपमा नष्ट गर्न मिल्ने प्लास्टिकबाट बनेको हो । यसको केन्द्रीय कोरमा बाँसको खुट्टा हालिएको छ । माइनस्वीपरमा हावाले ऊर्जा दिने धातुका डल्ला राखिएका छन् जसले वायु ऊर्जा आकर्षण गर्छ र यन्त्रलाई गति दिन्छ ।
यसले चारवटासम्म ब्लास्ट धान्न सक्छ । त्यसपछि भने यसले काम गर्न सक्दैन । यसको बाँस खुट्टा प्रत्येक विस्फोटमा प्रभावित हुन्छन् भने केन्द्रीय इकाइ साबुतै रहन्छ ।
अहिले त यसको मूल्य चर्को छ तर बिस्तारै यसलाई घटाउने प्रयास भइरहेको छ ।
द्वन्द्वग्रस्त अफगानिस्तानका मसूद हसानीले यो यन्त्र बनाएका हुन् । ल्यान्डमाइनका कारण अकालमा ज्यान गुमाउनुपर्ने स्थिति यो यन्त्रले रोक्ने अपेक्षा छ ।
एजेन्सीको सहयोगमा