
काठमाडौं, १८ असार- आइतवार राति देखि परेको अविरल वर्षाका कारण तराइका जिल्ला जलमग्न भएका छन् । पहाडी क्षेत्रमा भने पहिरोका कारण यातायता प्रभावित भएका छन् ।
बाढीका कारण वीरगञ्ज नेपालगञ्ज जमग्न भएको छ भने झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, नवलपरासी, कपिलबस्तु, रुपेन्देही, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
यस्तै वर्षाका कारण देशका विभिन्न राजमार्ग पनि अवरुद्ध भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोला, तोपे खोला र जलविरेमा पहिरो गएका कारण उक्त रुट भएर चल्ने सवारीहरुको आवागमन प्रभावित भएका छन्।
पानी परिरहेका कारण पहिरो झर्ने क्रम जारी रहेकोले तत्कालै पहिरो पन्छाउन समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
त्यस्तै पृथ्वी लोकमार्ग अन्तर्गत धादिङ बेनिघाट रोराङ गाँउपालिका-१० तिघ्रान खानीमा आज बिहान साढे ८ बजेबाट सवारी आवागमन एक तर्फी संचालन भैरहेको प्रहरीले जनाएको छ ।
अविरल बर्षाको कारण लेदो माटो झरेकोले दोहोरो सवारी संचालनमा समस्या भएको हो ।
यसैगरी कालिकोटको शुभकालिका गाँउपालिका-२ स्थित गोगने खोलामा पनि आज बिहान पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बिहान साँढे ५ बजेबाट अवरुद्ध रहेको राजमार्ग खुलाउने प्रयास भैरहेको स्थानिय प्रहरीले जानकारी दिएको छ ।
सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाँउपालिका-३ हेडबक्समा पनि गएराति सवा ११ बजे खसेको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ । पहिरोका कारण पाल्पा,गुल्मी, स्याङजा,कास्की संचालन हुने सवारी साधनको आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पानी परिरहेका कारण अवरुद्ध सडक खुलाउने समय लाग्ने भएको छ ।